माघ १४ बझाङ । बझाङको पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राती खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दलका कार्यकर्ता हुन् ।
तरुण दलको नेतृत्वमा आज बिहानै देखि बझाङमा प्रदर्शन भईरहेको छ ।
पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञानबहादुर कठायत छन् । हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से १ प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । काँग्रेसका नेताहरुले सत्ता र शक्तिको आडमा बसेकाहरुले हत्या गरेको भन्दै हत्यारालाई उम्कन नदिन दबाब दिएका छन् ।
मंगलबार दिउँसो स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ ७ बजेतिर खुँडा प्रहार गरेका थिए । खुँडाले लागेर घाईते भएका उनको घटनास्थलमै मृत्यु भएको थियो ।