माघ १२ काठमाडौँ । प्रतिनिधि सभा विघटन बिरुद्ध आन्दोलित बनेको नेकपा प्रचण्ड माधव समुहले थप कार्यक्रम आज सार्वजनिक गरेको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज नभएसम्म आन्दोलन जारी रहने भन्दै कार्यक्रम सार्वजनिक गरिएको हो ।
माघ १३ देखि २८ गतेका लागि संघर्षको कार्यक्रम तय गरिएको छ ।
घोषित कार्यक्रम अनुसार माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ गतेदेखि २१ सम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, विघटित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहित धर्ना कार्यक्रम, माघ १६ गते जुलुस लगायत छन् ।
यस्तै माघ १५ गते बुटवल, माघ १६ गते विराटनगर र माघ १७ गते धनगढीमा प्रदेश स्तरीय विरोध प्रदर्शन र सभाको कार्यक्रम घोषणा गरिएको छ ।
माघ २८ गते राजधानीमा पुनः शक्ति प्रदर्शन गर्ने पनि कार्यक्रममा उल्लेख छ ।
यस अघि पुष १४ र माघ ९ गते पनि राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।
