माघ १, काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा ४४ जनाको आवेदन परेको छ । उपकुलपति नियुक्त गर्न गठित सिफारिस समितिमा ४४ जनाले आफ्नो व्यक्तिगत विवरण सिफारिस बुझाएका हुन् ।
विश्वविद्यालय सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो ।
केयूमा उपकुलपति नियुक्त गर्न पहिलो पटक सार्वजनिक रुपमा गरिएको दरखास्त आह्वानमा ३७ जना प्राध्यापकले र बाँकी व्यक्तिगत विवरण सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका व्यक्ति रहेको बताईएको छ । वर्तमान उपकुलपति रामकण्ठ माकाजु, पूर्व रजिष्ट्रारहरु भद्रमान तुलाधर, भोला थापा, शिक्षाविद् मनप्रसाद वाग्ले, प्राध्यापक जर्नादन लामिछाने लगायतले विवरण पेश गरेको स्रोतले बताएको छ । खगेन्द्रप्रसाद लामिछाने, विरेन्द्रराज तिवारी, निलाम्बर झा, विभुतिरञ्जन झाले पनि व्यक्तिगत विवरण बुझाएको बताईएको छ ।
सिफारिस समितिले बुधबार व्यक्तिगत विवरणहरुको रुजु गरेको थियो । व्यक्तिगत विवरणको अध्ययन गरेर माघ ५ गते पुनः समितिको बैठक बस्ने कार्यतालिका रहेको छ । समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् ।
सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये १ जनालाई कुलपति तथा प्रधानमन्त्रीले उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ । अघिल्लो पटक पनि भोला थापा र जर्नादन लामिछानेसहित माकाजुको नाम सिफारिस भएको थियो । ४ वर्षअघि माकाजु दोस्रो कार्यकालका लागि नियुक्ति भएका थिए । उनको कार्यकाल माघ ७ गते सकिदैछ । उनले तेस्रो पटक पनि उपकुलपति बन्न व्यक्तिगत विवरण बुझाएका हुन् ।