वैँसको घोडामा चढेर
बतासले जुल्फी लर्काउन थालेपछि
उस बेला –
छानाबाट फर्सी झरुञ्जेल
थेवाले बजाएथे रे !
आफूजस्तै जब्बर च्याब्रुङ
च्याब्रुङ ब्रुङ ! च्याब्रुङ ब्रुङ !!
त्यही आदिम धुन सुनेपछि
युगौँदेखि निदाइरहेको
यो नदीले जीवनको गति हालेछ !
नदीमा पानीमात्र बग्दैन
सायद,
पानीसँगै बगिरहेछन्
तरूनी मनका हजारौं सपनाहरू
लुटिएका अनुहारहरू
देश छोड्न बिवस पारिएका पाइतालाहरू !
यतिखेर
आफ्नै आँसुको रङ मेटाएर
पानीसँगै बेखबर बगिरहेछ – एउटा थकित जिन्दगी !
……………
उही बेला,
पहाडका जराहरू रसाएर
कुलकुलाउँदै झरेकी तरूनी युमालाई
सुँगुरको चारो टिप्दाटिप्दै
अचानक हिकहिकी लागेको थियो रे !
र त्यही बाडुल्कीको
नदेखिने लहरो समाउँदै समाउँदै
जीवनको चिसो बेँसीबाट
उनी यो बतासेडाँडामा उक्लेकी थिईन् रे !
……………….
कपासजस्तै पिरती बाटेर
रहरैरहरको धागोले बुनेको सुकुवा दिँदै
थेवाले भनेथे रे –
फक्ताङलुङ साँक्षी छ
मेरी हाङ्लेकुसामेन्छोमा !
आकाशमा जूनघाम रहुञ्जेल म तिम्रै हुने छु !
निधारबाट झरेको,
ह्यात्रुङ झरनाझैँ केशरासीले
लछप्पै ढाकिएको अनुहार पन्छाउँदै
युमाले भनिथिन् रे –
तीनआँख्ले तारा साँक्षी छ
मेरो राजालेकुसा !
च्याब्रुङको आवाज बाँचुञ्जेल म पनि तिम्रै हुने छु !
……
ए कान्छी !
भन न कसले राखिदियो होला
तिम्रो सुकुवाभित्र
अर्कैका यी बैगुनी सपनाहरू
र मुटु दुख्ने वेथाले थलिएको छ – च्याब्रुङ नाच ?
किन यति लामो छ
यो नदी रूँदै रूँदै हिँड्ने गोरेटो पनि ?
धर्तीका इन्द्रेणी रङहरू पखाल्दै
जसरी बगिरहेछ
यो खोलाको धमिलो पानी
उसरी नै किन बगिरहेछ – यो समयको मन !
………….
बाँसका कप्टेराले चिरेर
हस्तरेखा खहरेजस्तै बनेपछि
हरेक दिन बगेर
मुङ्लान छिर्ने त्यो पासर्पोट
केरुङ साइँलाको हो कि यो देशको ?
गलाको कण्ठा समाएर
कार्गीलको अनकण्टार क्षितिज हेर्दै
सुँक्कसुँक्क एक्लै रोईरहेकी
दिलकुमारी हुन कि दरबारकी महारानी ?
कफनबक्समा थुनिएर
खाडीबाट भर्खरै आएको लाश
चेमजोङ कान्छाको हो कि मन्त्रीको छोराको ?
………….
भन न कर्याङकुरुङ चरी !
अब कति कोष पर छ
यो अँध्यारो सुरुङको अन्त्य ?
हरेक दिन
हलुङ्गेको तपेसभित्र
पोक्ची दिदी के मुछिरहेछिन्
अमिलो जाँड कि आफ्नै लाँकुरी वैँस ?
ए कोहि त भनिदेऊ !
वर्षौँवर्षदेखि,
यो आदिवासी ठेकीको दहीबाट
सुटुक्क नौनी चोरेर
दरवार पुर्याउने अर्दली हो कि रङ्कको जासूस रु
सत्ताको तोक लाएर
मूल्यसुची टाँसिएको बजारमा
किन यति सस्तोमा बेचिन्छन् – हाम्रा संवेदनाहरू ?
……….
हउ लोकेकी आमा !
यो एकमेलो कोदो टिपेर
हेर्न जाउँ है
कति कोस पर छ होला
हाम्रो कुत उठाउने त्यो सिँहदरबार ?
……….
विश्वास टुटेर
आफैँमाथि शङ्का जागेपछि
पुरानो खोर नजिकै
च्याब्रुङको बाटुलो प्वालबाट
निर्जन क्षितिज हेर्दै
राष्ट्रियता सम्झी एक्लै रोइरहेको
मक्करध्वजको छोरो हो कि कुनै राजकुमार ?
यी नानीहरूको आँखाबाट
हराएको सपनाको रङ
र मुनधुम फुकेर
फेदङबाले फ्याँकेको अक्षताको रङ
किन उस्तै छ
उमेर फुलेको उजाड रङजस्तै निख्खर सेतो !
……………….
भन न ए मेन्छ्याफुरूप्मा
कहाँ हराए होलान्
आज हाम्रा सपनाका अनगिन्ती रङहरू ?
………….
एका विहानै,
शीतले लछप्पै भिजेर
बतासेडाँडाको ऐँसेलु झाङमा
अड्किएको त्यो सारीको टुक्रा कसको हो ?
किन सँगसँगै रोईरहेछन्
माखुङ्गे र यो बंगुरको सानो पाठो ?
एउटा दुखान्त कथा लेखेर
एकाएक कहाँ हराई होला – जमुनी मादेन रु
र यो बहीदार बूढो
जैविक अस्त्रजस्तो कागजमा
किन आत्महत्याको मुजुल्का उठाइरहेछ ?
…………………….
ए मावाखोला !
कस्तो निश्फिक्रि मुर्दा निदाएको
ब्यूँझ न ब्यूँझ
यो वनभरि डढेलो सल्किसक्यो !
-प्रथा