मुक्तक – १
सिर्जनाको नदी सुक्छ जल कसले लुट्यो
प्रेम गर्यो विश्वास टुट्छ पल कसले लुट्यो
किन मिलेन श्रमिकको पसिनाको गणित
पौरख गर्यो मूल्य छैन फल कसले लुट्यो ?
मुक्तक – २
भर्ने जति भरी नै सक्यौ अब भर्नु कहाँ छ र
चर्ने जति चरी नै सक्यौ अब चर्नु कहाँ छ र
थाहा छैन जिन्दगीभर बाघ भयौ कि बाख्रा
झर्ने जति त झरिसक्यौ अब झर्नु कहाँ छ र !
मुक्तक – ३
तौल अति भएपछि काँधले नि छोड्छ हजुर
शङ्का धेर गरेपछि साँधले नि छोड्छ हजुर
सजक बनौं आफैँ, अति भए खति हुन्छ हेर
हद-सिमा नाघेपछि बाँधले नि छोड्छ हजुर !
मुक्तक – ४
तृप्त भइञ्जेल भोग मलाई नगर बनेकी छु
घृणा मेटुञ्जेल थुक मलाई सगर बनेकी छु
न दु:खले न सुखले छुन सक्छ अब, हजुर
धित् मरूञ्जेल टेक मलाई बगर बनेकी छु !
मुक्तक – ५
खेतला नि फर्किए घर कुनिया नै भुलेपछि
नमिठो भो खाजा पनि बुनिया नै भुलेपछि
तेरो मेरो भन्नु पनि लोभको नै जाल रहिछ
अहंकारी भयो मानिस दुनिया नै भुलेपछि !
मुक्तक – ६
कुंडेभित्रै दुध चोर्न भनी छाली तैयार भा’छ
साँध सिमा तोड्न फेरि आली तैयार भा’छ
गजव आयो जमाना नि कसको भरमा पर्नु
फूलको गर्दन रेट्न यहाँ माली तैयार भा’छ !
मुक्तक – ७
हुसेनालाई मदिना पठाई जकिर कहाँ हिँड्यो
मधुशालाको मस्ति भुली लकिर कहाँ हिँड्यो
खुसी मेटी निर्जन जीवन किन जिउँछ मान्छे
जिन्दगीको संगीत छोडी फकिर कहाँ हिँड्यो ?