मंसीर ९ काठमाडौँ । कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण गत बैशाख ८ गतेदेखि हुनु पर्ने परीक्षा रोकिदै आएको सन्दर्भमा आजबाट भने कक्षा १२ को सबै संकाय र बिषयको परीक्षा शुरु भएको छ । आज पहिलो दिन अग्रेजी बिषयको परीक्षा भएको थियो ।
४० पूर्णांकको मात्र परीक्षा लिईने भएका कारण बिहान ८ बजेदेखि डेढ घण्टा मात्र परीक्षा हुने छ ।
सबै परीक्षा केन्द्रहरुमा बिद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने स्यानीटाइजरको पनि व्यवस्था गरिएको छ । साथै भौतिक दुरी पनि कायम गरेर परीक्षा लिने व्यवस्था मिलाईएको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिएको बताए ।
स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिन शुरु गरेका छन् ।
सैद्धान्तिकतर्फ प्रत्येक विषयको कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिईदै छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने छ ।