पातला चोयाहरू खिपेर
कसले बुनेको हो
यो झ्यालखानाजस्तै उदास मान्द्रो ?
र युगौँयुगदेखि
यही मान्द्रोको ध्वाँसे शीलिङमाथि
विस्कून सुकाइरहेछन्
यो देशका कुरूप मठाधीषहरू
उज्यालो नहुँदै मुर्झाएका
हाम्रा करोडौं सपनाका चेरीफूलहरू !
उमेरले डोर्याएर
थकीत बनेका ऊटहरूजस्तै
यी भरोसा गुमाएका करोडौं मान्छेहरू
अब कहिले पुग्छन् होला
जीवनको भर्याङ चढेर – आकाशको विशालतासम्म ?
र खुसीको आधा इन्द्रेणीसँगै
यो धर्तीको एकलास पटाङ्गिनीभरि
पुनः मुस्कुराउने छ
जिउन बाँकी यो एक टुक्रा बेसुर जिन्दगी पनि !
म आधा डुबेँ या पुरै
तर डुब्न चाहीँ अवश्य डुबेको छु !
विश्वास गर्नुस् श्रीमान् !
यतिखेर,
अँह, थाहा छैन मलाई
घामको अनन्त उचाईभन्दा अग्लो
यो मनको चुरे पहाडमा
यति सानो भोकको तलाऊ – कति पुस्ता गहिरो छ ?
विश्वासको लग्गी टेकाएर
यो गह्रुँङ्गो डुङ्गा
तार्न थालेको पनि वषौँ बितिसकेछ !
यतिखेर,
न त म वारी छु
न त नदीको पारी नै भएको छु !
कहाँ हरायो होला
यो जिन्दगीको त्यो अर्को किनारा ?
ओ कोटलर बाजे !
के भन्न सक्छौ
कामज्वरोले थलिएर
बजारवादको यो सिस्ने जङ्गलभित्र
जीवनको लय गुमाइरहेका
लेउकी फूलजस्तै यी कलिला नानीहरूले
आमाको दुध चुस्न
अब लिनु पर्ने
सरकारी अनुमतिपत्रको परल मुल्य कति पर्छ ?
ओ रोबर्ट शीलर !
टेलिस्कोपिक बाथोमिटरले नापेर
कसले पत्ता लागाएको हो
यो विशाल समुद्रको त्यो अनन्त गहिराई ?
दोखले खर्लप्पै निलेर
जीवनको लालसा गुमाएकाहरू
हजारौं वर्षदेखि
निरन्तर डुबिरहेछन् – भोकको अघोरी तलाऊमा !
सायद,
शासकहरू चाहाँदैनन्
यो अघोरी तलाऊको गहिराई नाप्न ?
साँची, कहाँ छ होला
त्यो औजार जसले यो गहिराई नाप्न सकोस् ?
यो पृथ्वीका यी सहस्र हरियालीहरू
म अब कसरी जोगाऊँ
आफैँभित्र दनदनी दन्किरहेको डढेलोबाट ?
यो पीडाको पठारमा
किन यसरी रसाइरहेछन्
बारुदका हजारौं सुसुप्त कुवाहरू ?
र बेहिसाव मडारिरहेछ
यो जमिनको अनुहारभरि एउटा चीसो आतङ्क !
पेटमा करौंती रेटिएर
जीवनका सारा विकल्पहरू
डाँडामाथिको अन्तिम घामझैँ अस्ताएपछि
वनफूलका आँखाहरूबाट
सपनाका इन्द्रेणी रङहरू हराउँदा रहेछन् !
भोकको अँगेनोमा
यसरी टुक्रा टुक्रा सल्कनुभन्दा
म अब क्रान्तिको भट्टीमा हामफाल्न चाहन्छु !