कार्तिक २७ काठमाडौँ । कोरोना महामारीका कारण करीब ८ महिना पछि कक्षा १२ को परीक्षा आगामी मंसीर ९ गतेबाट हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले मंसीर ९ देखि १६ सम्म हुने सबै परीक्षाको तयारी पूरा भएको जनाएको छ ।
शिक्षा मन्त्रालयले परीक्षा आफू बसेको पायक पर्ने केन्द्रबाटै दिन पाउने भनेको भए पनि प्रयोगात्मक परीक्षा आदि कारणले सबै जसो बिद्यार्थीले आफू पढेको विद्यालय नै छनौट गरेको देखिएको छ ।
यस पटक कक्षा १२ मा परीक्षार्थी संख्या ४ लाख ३ हजार १ सय ८० जना रहेका छन् । तीमध्ये १२ हजार ४ सयभन्दा बढी परीक्षार्थीले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन आवेदन दिएको अर्यालले जनाए ।
देशभरि ११ र १२ कक्षा पढाइ हुने ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
.बोर्डले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको छ । त्यसअनुसार यो पटक पढेकै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । सम्बन्धित विद्यालयको प्रधानाध्यापक परीक्षा केन्द्रको केन्द्राध्यक्ष रहन्छ । उपत्यका बाहिर वा टाढा रहेका परीक्षार्थीले सक्कल प्रवेशपत्र लिएर आफू नजिकको विद्यालयको परीक्षा केन्द्रबाट जाँच दिन पाउँने व्यवस्था छ । ती परीक्षार्थीको उत्तरपुस्तिका बोर्डको सम्बन्धित कार्यालयमार्फत जाँचिने छ ।
यस पटक सैद्धान्तिक अङ्कभार ४० प्रतिशत र आन्तरिक मूल्यांकन २० प्रतिशत कायम गरिएको छ । सम्बन्धित विद्यालयले आफ्नो विद्यार्थीको परीक्षा लिएर विषय शिक्षकले उत्तरपुस्तिका जाँच्न पाउने छन् । कार्यविधिअनुसार जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक विद्यार्थीको कम्तिमा २–२ मिटरको दुरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी राख्न सक्ने छन् ।