ठूला-ठूला हतियारसँग पौठेजोरी खेल्दै
महाशक्तिहरुको दुस्साहसलाई परास्त पार्दै
एउटा अदृश्य भयावहले
मान्छेलाई आतंकित बनाएको छ
संसारलाइ त्रसित बनाएको छ
मान्छेको अहंकारलाई कुल्चिएर
अकास्मत , संसारमा आफ्नो साम्राज्य फैलाएको छ।
उसले बर्गलाई चिनेन
जातलाई हेरेन
ठूलो-सानोमा भेद राखेन
नितान्त मान्छेलाई चिन्यो
मान्छेलाई देख्यो
र, मान्छेलाई नै आक्रमण गर्यो।
यसबेला,
मान्छेका गतिविधि घटेका छन
क्रियाकलाप असमान्य भएको छ
मान्छेबाट मान्छेनै आशंकित छ
मान्छेबाट मान्छेनै त्रसित छ
र, मान्छे पछाडि धकेलिदैछ।
सुक्ष्मभन्दा सुक्ष्म जीव
न हतियारसँग डराउछ
न क्षेप्यास्त्र र मिसाइलले भगाउँछ
विज्ञानलाई समेत चुनौती दिएर
उ आफ्नै साम्राज्यमा रमाउछ।
मान्छेले बनाएका सिमारेखा तोडेर
न कुनै देश
न कुनै महादेश
लाग्दछ,यसले पृथ्वीका सबै मानिसमा
आफ्नो भाइरस पुर्याउछ।
कतै, अदृश्यमा…
भाइरसले मान्छे खाइरहेछ।
कतै, दृश्यमा….
मान्छेरुपी भाइरसले
मान्छेको भावना
मान्छेको चाहना
मान्छेको आशा
र, भरोसालाई खाइरहेछ
मान्छेको बाच्ने चाहनामा आधात पुर्याइरहेछ।
कहिले मान्छे भाइरस बन्छ
कहिले भाइरसले नै मान्छे खान्छ
कति निर्दयी छ मान्छे ?
जस्तै आपत-विपतमा पनि
मान्छेकै शोषण गर्छ।।