राजधानीको नजिकै रहेको काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिका धार्मिक, पर्यटन, कृषि आदि हिशाबले निकै परिचित रहेको छ र अहिले विकासको पथमा अघि बढीरहेको छ । समसितोष्ण वातावरण रहेको यस नगरपालिकाको कुल क्षेत्रफल १०२.३८ बर्ग किलोमिटर रहेको छ । यसको कुल जनसंख्या २९ हजार ५१९ जना रहेको छ भने नगरपालिकाका सबै ११ वटा वडामा गरी ६ हजार ५८४ घर धुरी रहेका छन् ।
दशकौं पछि सम्पन्न स्थानीय तहको गठन र निर्वाचन पछि एक हिशाबले भन्दा देशभरका स्थानीय तहहरु महानगर, उपमहानगर, नगरपालिका र गाँउपालिकामा विकासको प्रतिस्पर्धा, समृद्धिको नयाँ संकल्प र जनमुखी कार्यक्रमहरु परिचालन गर्ने लहर देखिन्छ । यद्यपि, धेरै स्थानीय तहहरुमा भ्रष्टाचार, अनियमितताका थुप्रै विषयहरु उठि पनि रहेका छन् ।
यस्तो पृष्टभूमिमा ऐतिहासिक थलो रहेको नमोवुद्ध नगरपालिकाले सबैखालका विकृतिलाई पन्छाउदै नगरको समृद्धि, विकास र जनताको रोजगारी, स्वास्थ्य एवं शिक्षा र युवा केन्द्रीत कार्यक्रम केन्द्रीत गरी अघि बढीरहेको छ । नगर प्रमुख टिपी शर्मा (तिमिल्सिना) स्थानीय सरकार, उत्तरदायी सरकार, विकासशिल सरकार, जनमुखी सरकार, बलियो सरकार राष्ट्र समृद्धि सरकार हामी सबैको उन्नतिको आधार भन्ने मान्यता सहित नगरको समग्र विकासमा लागि परेको बताउछन् ।
नगरको प्रकाशित नगर विकास योजनामा उल्लेख भए अनुसार आर्थिक विकासका लागि कृषिलाई प्राथमिकतामा राखिएको छ । “सम्पूर्ण जग्गाको पहिचान र वर्गीकरणः कृषियोग्य जग्गामा उत्पादन र संरक्षण अभियान अनुसार जैविक तथा अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्ने, घर घरमा कृषि प्राविधिक सेवा, एक गाँउ एक उत्पादन जस्ता कुरामा जोड नगरपालिकाले दिएको छ ।
महामारीको अवस्थामा स्थानीय सरकारका आवश्यकता र प्राथमिकता पनि बदलिएका छन् । यस परिस्थितिमा नमोबुद्ध नगरपालिकाको नीति तथा कार्यक्रम सामान्य भन्दा फरक रहेको र कोभिड–१९ (कोरोना भाईरस) को रोकथाम र नियन्त्रण साथै आहतमा परेका नगरबासीलाई राहत हुने गरी स्वास्थ्य, शिक्षा, कृषि, पशु र विपद व्यवस्थापनमा विशेष जोड दिदै आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रम प्रस्तुत भएको नगरप्रमुख तिमिल्सिना बताउनु हुन्छ ।
नगरको सातौ नगर सभाबाट पारित आर्थिक वर्ष ०७७-७८ को नीति तथा कार्यक्रम अनुसार कृषि, उद्योग, पर्यटन, सहकारी, रोजगारी , खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, शिक्षा, स्वास्थ्य, महिला वालवालिका, आदिवासी, जनजाति, दलित सबै पक्षलाई समेटेर योजना र कार्यक्रम अघि बढेको देखिन्छ ।
हेर्नुस् नमोबुद्ध नगरपालिकाको सातौ नगरसभाले पारित गरे पछि प्रकाशित नगर विकास योजनाको पूर्ण विवरण :
https://www.mirmireonline.com/wp-content/uploads/2020/11/final-book-website.pdf