कात्रो पनि भरिदिऊँ भन्थें रास यतै छुट्यो
आखिरमा त लाश जल्दा सास यतै छुट्यो !
उप्रोमाथि थुप्रो भए नि झनै रित्तो हुने मन
धनको लोभ मस्त चढ्यो बास यतै छुट्यो !
चुच्चे ढुङ्गो उही टुङ्गो हुँदोरहेछ जिन्दगानी
गाउँ घर छोडी शहर छिरें पास यतै छुट्यो !
दिनरात यसै बिते जुवाखालको डवलीमा
अन्तिम दाऊ थापूँ भन्थें तास यतै छुट्यो !
जग सारा यतै छोडी घोडा चढी अगि बढें
वैकुण्ठ सयर गरूँ भन्थे आश यतै छुट्यो !
पेट भरिन्न आङ ढाकिन्न थुपारेर के काम
नाङ्गै आएथें निख्लै गएँ खास यतै छुट्यो !
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline