व हरियर रङ

व हरियर रङ

  • शनिबार, कार्तिक ८, २०७७
  • प्रथा

  • 12.8K
    SHARES

चँचरीमा,
सिद्रा हो कि आफ्नो मन
के थापेर फर्किरहेछन् – पासवानदाई ?
जति साँध लगाए पनि
कहिल्यै धार नलाग्ने जिन्दगीसँग
आज फेरि
किन यसरी झोक्किँदैछ
झिन्झिनी भाउजूको नुहेको उमेर ?

सुनखरी फक्रिएर
सभ्यताका मधुर अक्षरहरू
महकिरहेका महाकाव्यका हरफहरूभित्र
आज किन भेटिँदैनन्
आफ्नै जीवनका कलिला सपनाहरू ?
र डाँगीहाटको फलैँचामाथि
चिलिमको धुवाँसँगै उडिरहेछन् – नागेन्दर बाबु !
ओहो !
मान्छे निर्जन बगर बनेपछि
सपनाहरूको पनि मृत्यु हुँदोरहेछ !

यो सिमलगाछीमा हुर्किएर
कति रैथाने चराहरू
जिन्दगीको उडान भरी गए होलान् ?
खडेरी नपर्दै डगमगाएर
मरुभूमिको पठारजस्तै बनेको
रहरहरूको यो सिमसार
किन होला
आज धरधरी धाँजा फाटिरहेछ ?
र वयलगाडाको पैँयाझैँ
आफ्नै धुलोमा आफैँ डुबिरहेछ !

सागरको किनारामा
सुनसान साँझ खस्नु अगावै
किन अस्ताइरहेछ
खुसीहरूको यो भर्रभराउँदो घाम ?
हरेक रात,
बदलिरहने सीमास्तम्भजस्तै
यो मन पनि किन नफेरिएको होला ?
र पहाडबाट ओरालो झरेर
दौडिरहेका यी नदीहरू
किन आफूमात्रै सीमा पार गरिरहेछन् ?

लू लागेर पनि
कहिल्यै नगलेको समुद्रजस्तै विश्वासले
कोशीका बहुलाहा छालहरूमा
किन नियालिरहेछ
विद्यापतिका पुराना धुमिल तस्बिरहरू ?
आफ्नो गुँढ छोडेर
यी सिमकुखुराका चल्लाहरू
किन खियाइरहेछन्
जिन्दगीका थकित डुङ्गाहरू सपनाशुन्य अरबमा ?

झण्डाले मुख छोपेर
जीवनको अन्तिम आँटीमा सुस्ताइरहेको
यो बूढो सुगाले
किन यही सिमलगाछीलाई माया गरिरहन्छ ?
कुनै एक साँझ,
पहाडहरू भत्किँदै दशगजा तरे
हिमालहरू पग्लिँदै सीमापार झरे
र रासनकार्डमा नाम दर्ता गरेर फर्के !

अर्को एक साँझ,
चेकपोष्टमा प्रहरीले यात्रुहरू गन्यो
एक, दुई, तीन….
चालिस जना नेपाली सा’ब
र सात जना चाहिँ मधेसे छन् हजुर !
गाडीको अन्तिम सिटमा
चुपचाप बसिरहेको बूढो सुगाले
आफैंलाई प्रश्न गर्यो –
“हम्नी कौन देशके आद्मी छि ?

उहिल्यै एक दिन
सपनाहरू वयली खेल्न थालेपछि
“व हरियर रङ हमर हई वौवा”
किन भने होलान् जगुवा ठाकुरका छेरबाबाले ?
अझै पनि ऊ अनुत्तरित नै छ !
साँच्चै !
त्यो हरियर रङ
उसको थियो कि थिएन ?
यदि थियो भने
यो आकाशको आधा इन्द्रेणीमा
ऊ किन भेट्दैन
आफ्नै रङका लुर्कनाहरू ?
के इन्द्रेणी र देशमा कुनै सादृश्यता छैन र ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी