कहाँ चुके प्रचण्ड ?

कहाँ चुके प्रचण्ड ?

  • बुधबार, अशोज २१, २०७७
  • –भरत रिमाल

  • 33.1K
    SHARES

मानव सभ्यताको बिकास सँगै मानिसले नौलो प्रयोग र जीवनयापनमा सरलता खोज्दै नयाँ ढंगबाट जीवन जिउने तरिका खोजिगरिरहेको हुन्छ। मानिसले आफ्नो स्वार्थ मिल्दा सम्मको समुह बनाई सामाजको रुप दिएको हुन्छ। जब सम्म मानिसको स्वार्थ मिल्ने हुन्छ एकै समाज, एउटै संस्कृति एउटै धर्म अंगाल्ने हुन्छन भने जब स्थान, समय र आवश्यकता अनुसार स्वार्थ फरक पर्दै जाने हुन्छ, समाज छुट्टिएर फरक स्वार्थ भएकाहरुको फरक वर्ग निर्माण हुँदै जान्छ। यसरी बनेका वर्गहरु वीच आफ्ना स्वार्थका बिषयमा बहस, विवाद र द्वन्द हुन थाल्दछ, यसलाई वर्ग संघर्ष भनिन्छ। यो संघर्ष कहिले काहिं निश्चित भूगोलमा त कहिले काहिं सर्वव्यापक रुपमा फैलिने गर्दछ। कार्लमाक्स, लेलिन, माओ हरुले शुरु गरेको वर्ग संघर्ष अलि व्यापक भयो भने च्वे गेभारा, स्टालिन हरु देखि केहि नश्लवादी हरुले गरेको संघर्ष अलि फितलो रह्यो। समय स्थान अनुसार अहिले पनि विभिन्न देशको भूगोल भित्र विभिन्न संघर्षहरु भैरहेका छन् ।
नेपालको सन्दर्भमा ऐतिहासिक कालखण्ड देखि विभिन्न प्रकारका शासन पद्दति हरुको परिक्षण हुँदै आइरहेको छ । मुख्यतस् राजतन्त्रात्मक शासन पद्दतिले नेपालमा लामो समय सम्म प्रभुत्व जमाएको पाइन्छ, कहिले राजा शक्तिशाली भएर त कहिले राजा सेरेमोनियल रहेर। जब राणा हरुको जहानिया शासन नेपालमा थियो, त्यो समयमा राजाहरु सेरेमोनियल मात्र थिए । राणाहरुको निरंकुश शासन बाट आजित बनेका नेपालीहरु बिस्तारै राणा शासकहरु बिरुद्ध संघर्ष गर्न थाले र २००७ सालमा राणा शासनको अन्त्य गरि प्रजातान्त्रिक व्यवस्थाको शुरुवात गरे। फेरी राजा र राजनीतिक दल बीचको शक्ति संघर्ष शुरु भयो र २०१७ सालमा जननिर्वाचित सरकार अपदस्त गरि राजाले दल रहित शासन व्यबस्था लागू गरे । यसरी प्रतिबन्धित राजनीतिक पार्टीहरु शसस्त्र र वैचारिक संघर्ष गरि आफ्नो शक्ति पुर्स्थापना गर्न संघर्ष गर्न थाले । २०४६ सालमा राजालाई संबैधानिक दायरामा ल्याएर केहि राजनीतिक दलहरुले राजा सँग शक्ति बांडफांड गरि संघर्ष टुंग्याए भने केहि दलहरु राजालाई पुर्णरुपमा विस्थापन गर्नुपर्छ भनेर भूमिगत संघर्षमा लागे, जस मध्येका एक हुन् प्रचण्ड।
माथिको पृष्ठभूमि यहाँ किन उल्लेख गरियो भने प्रचण्डको उदय र प्रचण्ड उदयको सार्थकता बारे बुझ्न यो पृष्ठभूमिको आवश्यकता हुने हुन्छ। राणा शासनको युगमा नेपाली समाजमा भिन्न स्वार्थका धेरै वर्गहरु थिएनन। सामान्यतया पुरातन कृषि प्रणालीमा आधारित समाजमा सबैका स्वार्थ समान थिए त्यसैले वर्ग संघर्ष गर्नु पर्ने कारण नै थिएन संघर्ष थियो त मात्र शासकहरुको थिचोमिचो विरुद्ध त्यो पनि आफू हरु थिचोमिचोमा परेको बुझ्न सक्ने नवनिर्मित वर्गलाई । समय क्रम संगै बिस्तारै स्वार्थ र आवश्यकता परिवर्तन हुँदै गयो र विभिन्न स्वार्थका विभिन्न वर्गहरु तयार भए र वर्ग संघर्ष पनि चर्किंदै गयो। शिक्षा र प्रविधिका विकास संगै मानिसमा जनचेतना पनि विकाश हुँदै गयो र मानिस हरेक स्तरमा हरेक स्थानमा आफ्नो अपनत्व खोजि गर्ने हैसियतमा पुगे। वर्ग संघर्ष चर्किंदै जाँदा राज्यको श्रोत र साधनमा कब्जा जमाएर बसेकाहरु अन्य वर्गलाई दमन र निस्तेज पार्न लागे भने दमित वर्ग हिंसात्मक सशस्त्र हिंसात्मक संघर्ष गर्न थाले। यो क्रम चलिरहँदा देशमा कयौं शासक परिवर्तन भए तर संघर्षको ब्यबस्थापन हुन सकेन। संघर्ष कै दौरान २०५२ सालमा तत्कालिन सरकार संग ४० बुंदे माग राख्दै हिंसात्मक सशस्त्र युद्ध घोषणा गरि तत् समय सम्म सिर्जना भएका अधिकांश उपेक्षित वर्गको नेतृत्व गर्दै संघर्षमा होमिएका पात्र हुन् प्रचण्ड । भर्खरै विकास हुँदै गरेको जनचेतना, बिभिन्न स्वार्थ समुहका वर्ग बीच उपेक्षा, जातीय उत्पीडन, गरिबी र पश्चिमा धर्म विस्तार प्रचण्डका लागि उर्वर भुमि बन्यो। जनतामा शासक हरु प्रति वितृष्णा, दलाल र पुँजीपति वर्गको सामाजिक भेदभावले पिर्सोल्टिएका जनता प्रचण्डको अभिनयबाट प्रभावित हुँदै गए । जसरी एउटा चलचित्र हेर्दै गर्दा नायकलाई मनोवैज्ञानिक रुपमा भएभरको शक्ति लगाएर समर्थन गरिन्छ, नायकका मिथक बनाएर नायकलाई देवात्व्करण गरिन्छ त्यसै गरि प्रचण्डलाई प्रस्तुत गरिँदै गइयो र प्रचण्डले पनि कम्न्युष्ट पार्टीका केहि किताब पढेर उपन्यास पढुन्जेल उपन्यासको नायक आफैलाई ठानेजस्तो आफूलाई कम्न्युष्टको महानायक ठानिरहे यसरि प्रचण्डको नेतृत्वमा तत्कालिन राज्यसत्तासंग युद्ध हुँदै गर्दा राजदरबार हत्याकाण्ड देखि राजाबाट राजनीतिक दल प्रतिको नकारात्मक दृष्टिकोण र कदमले त्यो बेलाका राजनीतिक दल हरु पनि राजतन्त्रको विकल्प सोच्न थालिसकेको अवस्थामा प्रचण्ड नेतृत्वको माओबादी र तत्कालिन दलहरुको २०६२–६३ को आन्दोलन मार्फत नेपालमा गणतन्त्रको शुरुवात भयो । यहाँ सम्म प्रचण्डको नेतृत्व र कदम सहि नै थियो। त्यसपछि प्रचण्डले आफू यहाँ सम्म आउन कुन वर्गले कसरि साथ दिएका थिए भन्ने विर्संदै जानु प्रचण्डको उँधो गति लाग्ने बाटो थियो। जब संबिधान बनाउने म्यान्डेट लिएर चुनावमा आफ्नो दल सबभन्दा ठुलो दल बन्यो, प्रचण्डले हिजो गरेका वाचा, बाँडेका सपना सबै भुलेर पहिले जनताबाट तिरस्कृत भैसकेका राजनीतिक दल र तिनीहरुकै मार्गमा प्रचण्ड लागे, उनलाई हरेक अवस्थामा साथ दिएका साथीहरुको साथ छुट्दै गयो भने प्रचण्डको पहिले उनैले वर्ग शत्रु घोषणा गरेका दलाल पुँजीपति वर्ग संगको साथ बाक्लिंदै गयो। चुनावमा आफ्नो दल सबभन्दा ठुलो राजनीतिक शक्ति बनेपछि प्रचण्डले हिजो युद्धमा साथदिने जनता संग कहिल्यै सल्लाह लिने आवश्यकता महशुस गरेनन् । यदि उनले आफ्नो दललाई सफलता दिलाई सकेपछी युद्धको दौरान घरदैलोमा सपना बाँडे जस्तो घर दैलोमा अब हामी सत्तामा पुगेका छौं अब कस्तो नीति कार्यक्रम बनाउने सल्लाह माग्न आएको भनेर जनताको असलियत बुझ्ने कोशिस गरेको भए सायद आज प्रचण्डको विकल्प कोहि हुने नै थिएन । कम्तिमा बाबुरामले जनता संग प्रधानमन्त्री भन्ने कार्यक्रम मार्फत जनतामा पुग्ने कोशिश गरे तर प्रचण्डले त्यसलाई पनि उदाइ दिए ।

प्रचण्डले यथास्थितिवादी दलका नेता भन्दा पनि सामन्ती संस्कार अङ्गाल्नु, राजनीतिक दुरदर्शिता नहुनु, यो युगको सफल क्रान्ति लाइ ब्यबस्थापन गर्न नसक्नु र समान उद्येश्यका सहयोद्धा छोडेर विसंगति शक्ति संग स्वार्थ मिलान गर्नु प्रचण्डको महाभूल हो। अब प्रचण्डले पार्टी वा सत्ता जे हाँके पनि सामन्ती गति मै चल्ने छ।

जव प्रचण्ड सत्ताको रसमा रमाउन थाले उनका वरिपरि तिनै पुँजीपति र दलालले अड्डा जमाउन थाले यति सम्म कि उनका सहयोद्धा समेत उनको पहुँचमा पुग्न नसक्ने भए र पार्टी विभाजन गर्न बाध्य भए। आफ्ना परिवारका प्राय सबै सदस्यलाई राज्यकोषबाट सेवा सुविधा मिल्ने गरि सरकारी नियुक्ति दिलाउने देखि निर्वाचन क्षेत्रमा दोहोरो निर्वाचन गराएर भए पनि छोरीलाई महानगरको मेयर बनाउने महासामन्ती रुप धारण गरि कम्न्युष्टको ताण्डव नृत्य देखाए । आफ्नै सहकर्मीलाई प्रतिवन्धित गरि आफ्नो स्वार्थको लागि विगतमा आफूलाई र आफुले नेतृत्व गरेको पार्टी र विचारधाराको आलोचना गरेर नथाक्ने केहि कम्न्युष्ट सिद्धान्तका किताबका पाठक संग स्वार्थ एकता गरि जनतालाई आफैले बाँडेका सपनाको धज्जी उडाइदिए ।
हजारौं नेपालीको ज्यानको मूल्य संग साटिएको गणतान्त्रिक व्यबस्थामा जनताले प्रचण्डबाट अन्य नेताको तुलनामा अधिक अपेक्षा राख्नु स्वाभाविक हो तर त्यत्रो संघर्षको नेतृत्व गरेका प्रचण्डले यथास्थितिवादी दलका नेता भन्दा पनि सामन्ती संस्कार अङ्गाल्नु, राजनीतिक दुरदर्शिता नहुनु, यो युगको सफल क्रान्ति लाइ ब्यबस्थापन गर्न नसक्नु र समान उद्येश्यका सहयोद्धा छोडेर विसंगति शक्ति संग स्वार्थ मिलान गर्नु प्रचण्डको महाभूल हो। अब प्रचण्डले पार्टी वा सत्ता जे हाँके पनि सामन्ती गति मै चल्ने छ।
अतस् प्रचण्ड चुकेको ठाउँ भनेको प्रचण्ड कम्न्युष्ट सिद्धान्तका पाठक बने तर साधक कहिल्यै बनेनन वा बन्न सकेनन्। क्रान्तिगरेर उपलब्धिलाई व्यवस्थित गर्न नसक्नु प्रचण्डको ठूलो र इतिहासले क्षमा गर्न नसक्ने कमजोरी हो प्रचण्डको।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी