विषय प्रवेश
नेपालको राजनीतिक वृत्तमा लामो समयदेखि निकै चर्चामा रहेको विषय मध्ये एक हो धर्म
निरपेक्ष र हिन्दु राष्ट्र । केहि राजनीतिक दलले प्रमुख एजेण्डा सहित हिन्दु राज्यका
पक्षपोषणका बाबजुद नेपालको संविधानले हिन्दु राज्यका पक्षपोषण गरेको छ । यहि संविधान
निर्माता दलमा पनि विस्तारै धर्म निरपेक्ष विरोधी र हिन्दु राज्यको पक्षमा अभिमत बढ्दै
गएको आजको अबस्था छ । यस्तो अवस्थाले एकातिर धर्म निरपेक्षताप्रति भ्रम बढ्न गएको
र अर्कोतर्फ धार्मिक समुदायवीच बैमनस्यता बढ्दै असहज परिस्थिति उत्पन्न हुने
सम्भावनालाई इन्कार गर्न सकिन्न । यसैले यस लेख मार्फत धर्म निरपेक्षता को विषयमा
संक्षिप्तमा जानकारी गराउँदै, कायम रहेको भ्रमलाई चिर्दै, धर्म निरपेक्ष, सापेक्ष कुनै पक्ष
विपक्षमा पैरवी या बहस नगरी सम्भावित वैमनस्यता निराकरण गर्ने सानो प्रयास मात्र
गरिएको छ ।
विषयगत आधार –
“धर्म निरपेक्ष राज्य” को विषयमा चर्चा गर्दा सर्वप्रथमतः “धर्म” शब्दको आशय र राज्यको
विषयमा धर्म निरपेक्षता कुन आशयमा बुझ्नु पर्दछ भन्ने बारे प्रष्ट हुन आवश्यक छ भन्ने
चर्चा सान्दर्भिक हुन्छ ।
धर्मलाई कतिपय अवस्थामा पदार्थ, जीव र मानवका स्वभाविक प्राकृतिक गुण वा
विशेषताका रुपमा बुझ्ने गरिन्छ । आगोको धम ताप या जलाउनु हो भन्नु अर्थाृत पदार्थृ या
जीवको प्राकृतिक या स्वभाविक गुणलाई धर्मको रुपमा व्याख्या गरेको पाइन्छ । यस अर्थमा
विज्ञानसम्मत जानकारीलाई धर्मको रुपमा परिभाषित गरेको पाइन्छ । यस भन्दा भिन्न
कतिपय अबस्थामा मानवीय या नैतिक आचरणलाई धर्मको रुपमा परिभाषित गरेको पनि
पाईन्छ । जस्तोकी माता, पिता, दीन दुखी, अबोध बालक, अशक्त व्यक्तिको सेवा सुरक्षा नै
धर्म हो भन्न । त्यस्तै गुरु धर्म, विद्यार्थी धर्म, राजधर्म, मानव धर्म, संस्थागत या व्यवसायिक
धर्म जस्तोकी वकिलको धर्म या राजनीतिक दलको सदस्यको धम जस्ता नैतिक आचरणगत
विषयलाई धर्मको रुपमा व्याख्या गरेको पाइन्छ । आचरणगत बिपरित कार्यलाई अधर्म भन्ने
गरिन्छ । माथिका दुबै धार्मिक परिभाषासंग “धर्म निरपेक्ष राज्य” को कुनै सम्बन्ध रहन्न ।
धर्म शब्दले माथिका परिभाषा या आशयभन्दा भिन्न रुपमा व्याख्या गरेको पनि पाइन्छ ।
यस्तो परिभाषामा धर्म भन्नाले अदृष्य, सर्वव्यापी, सर्वशक्तिमान, दैवी शक्तिका रुपमा
बुझिन्छ । यस्तो परिभाषाले यो लोक निरर्थक या भ्रम मात्र भन्दै परलौकिक, अप्रमाणित र
काल्पनिक सिद्धान्तको वर्णण गर्दछ । यसै सिद्धान्तका आधारमा अलग अलग सम्प्रदाय या
पन्थले आ–आफ्नो तोकिएको साधना या आराधनाको माध्यमले आफ्नो जीवनकाल या मृत्यु
पर्यन्त उपलब्धि प्राप्तिको कृयाकलापलाई पनि यसै अर्थमा धर्म भनिन्छ । यसरी तर्क संगत
या प्रयोगबाट प्रमाणीत नभएको शक्तिमा विश्वास भएकोले धम भनेको प्रमाणीत सत्य तथ्य
भनदा अलग विश्वास वा आस्था हो पनि भनिन्छ । सबै किसिमका आस्था र विश्वासलाई
धर्म मान्न सकिन्न । उदाहरणका लागि यो विश्वको निर्माण “बिग ब्याब्ग” बाट भएको हो
भन्ने विश्वास धर्म होइन । यसैले दैवी शक्तिमा आस्था र विश्वास मात्र धर्म हो । यस
लेखमा अब धर्मको सम्बन्ध यसै परिभाषासंग मात्र सम्बन्धित छ ।
धेरै मानिसले एकसाथ एउटा तोकिएको साधना या आराधना पद्धति अपनाउदै धर्म मान्दा
त्यसलाई संगठित धर्मको रुपमा बुझ्ने गरिन्छ । जनगणणा २०११ अनुसार नेपालमा
संगठित रुपमा हिन्दु ८१.३५%, बौद्ध ९.५%, इस्लाम ४.४५%, किरात ३.५%, इसाई १.४५%
र अन्य नास्तिक सहित ०.८५% छन्भन्ने पाइन्छ ।
धर्मको यस्तो सैद्धान्तिक व्याख्यामा आस्था या विश्वास नगर्नेलाई नास्तिक भनिन्छ भने
विश्वास गर्नेलाई आस्तिक भनिन्छ । यो अर्कै प्रसंग हो कि हिन्दु धर्ममा गैर हिन्दुलाई पनि
नास्तिक भनेको पाईन्छ ।
बिज्ञान सम्मत जानकारी र नैतिक आचरणको परिभाषित धर्मलाईं भने आस्तिक र नास्तिक
दुबैले स्विकारेको पाइन्छ ।
यहाँनेर यो पनि प्रष्ट हुन आबश्यक छ की निरपेक्ष शब्दको आशय अपेक्षा नगर्नु, अबलम्बन
नगर्नु, आश्रित नहुनुया तटस्थ हुनु जस्ता नकारात्मक भाव हुन्छ ।
धर्म निरपेक्षको आशय –
उपर्युक्त आधारमा धर्म निरपेक्ष राज्य भन्नाले धर्म निरपेक्ष घोषित या अघोषित त्यस्ता
राज्य जसले राज्य संचालनको नीति निर्माण र क्रियाकलापमा धर्मको आश्रय नलिदै
कानुनका अगाडि सबै धर्मावलम्बीलाई समान व्यवहार गर्दै धर्मको आधारमा भेदभाव
नगरिएको राज्य बुझ्नुपर्दछ । धर्मलाई राज्यबाट अलग नगरि धर्म निरपेक्ष राज्य हुन सक्दैन
। धार्मिक स्वतन्त्रतामा प्रतिवन्ध लगाउने राज्य पनि धर्म निरपेक्ष राज्यमा पर्दछन्।
यसरी धार्मिक स्वतन्त्रतादेखि प्रतिवन्ध लगाउने राज्य समेत धर्म निरपेक्ष राज्य पर्ने भएबाट
धर्म निरपेक्ष राज्यलाई अनेक प्रकारमा राखेर अध्ययन गर्न सकिन्छ । यस मध्ये व्यापक
प्रचलनमा रहेका दुई प्रकारलाई संक्षेपमा बुझ्ने कोसिस गरौँ ।
दुनियाँमा केही देशले धर्ममा प्रतिवन्ध लगाउद आफूलाई सेकुलर देश घोषणा गरेको पाइन्छ
। अंग्रेजी शब्द सेकुलरको ठिक नेपाल शब्द नभएको र नजिकको आशय बोक्ने शब्द
नेपालीमा धर्म निरपेक्ष भएकोले सेकुलरको स्थानमा धर्म निरपेक्ष शब्द नै प्रयोग गरिन्छ ।
यस्तो धर्म निरपेक्षतामा धर्मको विषयमा नकारात्मक भाव राख्ने भएकोले यस्तो धर्म
निरपेक्षतालाई “नकारात्मक धर्म निरपेक्ष राज्य” भनिन्छ । ज्यादाजसो कम्युनिष्ट राज्यमा
यस्तै नकारात्मक धर्म निरपेक्ष अपनाएको पाइन्छ ।
दुनियाँमा ५८ देशले आफूलाई धर्म निरपेक्ष राज्यको रुपमा घोषणा गरेकोमा कम्युनिष्ट
बाहेकका देशहरुले अपनाएको धर्म निरपेक्षता सकारात्मक धर्म निरपेक्षता नै हो ।
नकारात्मक धर्म निरपेक्षताको ठिक विपरित सकारात्मक धर्म निरपेक्षतामा कुनै धर्मको
बिरोध, अपहेलना र धर्मप्रति उदासिनता समेत नभई सामाजिक, राजनीतिक र शासकीय
स्तरबाट धर्मलाई अलग गर्नु मात्र हो । धर्म निरपेक्ष राज्य भन्नाले नास्तिक वा आस्तिक या
धर्म ग्रन्थमा नअलमलिई व्यक्तिको चारित्रिक, मानसिक, वैदिक र शारीरिक विकासको सम्भब
भए सम्मको उच्चतमा स्तरको विकासका लागि प्रतिपादित ज्ञान र सेवामा समर्पित राज्यको
अवसरका रुपमा बुझ्नु पर्दछ । यस संगसंगै धर्म निरपेक्ष राज्यले ब्यक्तिको चिन्तनलाई
विज्ञान सम्मत जागरणमा प्रोत्साहन गर्दछ । अर्कातर्फ धर्म निरपेक्षतलाई समाजले त्यतिकै
आत्मसात गर्दछ जति समाज आधुनिक र प्रगतिशिल हुदै जान्छ ।
धर्म निरपेक्षता नेपालको सन्दर्भमा –
“नेपालको संविधान” को भाग १ को धारा ४ (१) मा राज्यकोपरिभाषा गर्दै “नेपाल स्वतन्त्र,
अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेसी, लोकतन्त्रात्मक, समाजवाद
उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हा”े भन्ने उल्लेख छ । फेरि यहि धाराको
स्पष्टिकरण शिर्षकमा “यस धाराको प्रयोजनका लागि “धर्म निरपेक्ष” भन्नाले सनातनदेखि
चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक साँस्कृतिक स्वतन्त्रता सम्झनु पर्दछ”
भन्ने उल्लेख छ । यस बाहेक नेपाल बहुधार्मिक राज्य भएको, धार्मिक आधारमा विभेद
नगरिने, धार्मिक समानता र स्वतन्त्रताको चर्चा संविधानका निम्न धाराहरुमा उल्लेख छ ।
संविधानको प्रस्तावना
१) भाग ३ मौलिक हक र कर्तव्य महलको धारा १७ को उपधारा २ को उपधाराहरु १, ३, ४
र ५
२) ऐ ऐ धारा २६
३) भाग ४ को राज्यको निर्देशक सिद्धान्न्त नीति तथा दायित्व महलको धारा ५ को उपधारा
२
४) ऐ ऐ धारा ५१ को उपधारा ग को उपधारा ५
५) भाग २९ को राजनीतिक दल सम्बन्धि व्यवस्थाको महलको धारा २६९ को उपधारा ५
६) भाग ३४ को परिभाषा र व्याख्या महलको धारा ३०६ को उपधारा १ (क)
७) यस बाहेक धार्मिक आशयकै सम्प्रदाय शब्द यसै सन्दर्भमा केही धाराहरु उल्लेख पाईन्छ
।
८) त्यस्तै सकारात्मक विभेद र पहिचानको सन्दर्भमा धार्मि समुदाय मुस्लिम शब्दको केही
स्थानमा उल्लेख पाईन्छ ।
उपरोक्त संवैधानिक व्यवस्थामा धर्म निरपेक्षको स्पष्टिकरण मार्फत “सनातनदेखि चलि
आएको” धर्मलाई विशेष अधिकारको व्यवस्था गरेको पाइन्छ ।
यस सन्दर्भमा सनातन शब्दको अर्थ बुझ्न आबश्यक देखियो । हिन्दु शब्दको उल्लेख १०००
बर्ष भन्दा पहिले पाइन्न । फारसी भाषामा “स” अक्षर रहन्न । “स” को स्थानमा
फारसीहरु “ह” अक्षर प्रयोग गर्दछन् । असुरलाई अहुर भने जस्तै । सिन्ध नदी आसपास
बासी र तिनको धर्मलाई फारसीहरुले दिएको नाम हिन्द र हिन्दु हो । हिन्दु धर्मको मूल ग्रन्ध
वेदलाई मानिन्छ । वेदमा हिन्दु शब्दको उल्लेख छैन । वैदिक मान्यता अबलम्बन गर्नेलाई
वेदमा सनातन धर्मी भनिएको छ । यसरी अहिलेको हिन्दु धर्मकै पुरानो नाम सनातन हो ।
फेरि सनातन शब्दको शाब्दिक अर्थ ब्राहमणको श्रृष्टिभन्दा अगागिदेखि यस्को अन्त्य भन्दा
पछि सम्मको काल भन्ने हो । आदि र अन्त्यभन्दा लामो समय कालको धर्मका रुपमा
हिन्दुहरु मात्र आफ्नो धर्म रहने मान्दछन्तैपनि हिन्दु बाहेक शिख, जैन र बौद्ध धर्मावलम्बी
पनि आ आफ्नो सनातन धर्म मान्दछन्।
यसरी संविधानको धारा ४ (१) को स्पष्टिकरणले माथि उल्लेखित ४ धर्म बाहेकका धर्मलाई
विभेद गरेको देखिनछ भने धारा २६ (१) ले धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो
आस्था अनुसारको धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भन्ने उल्लेख
स्पष्टिकरणको व्याख्यासंग विरोधाभाष पाइन्छ । संविधानको धर्म निरपेक्षलाई घुमाउरो
भाषामा स्पष्टिकरणले अर्थहिन बनाए तापनि माथि उल्लेखित अन्य संवैधानिक व्यवस्थाले
नेपाल एउटा सकारात्मक धर्म निरपेक्षता भाव प्रकट भएको राज्यका रुपमा दर्शाउँदछ । भलै
परम्परागत कार्यशैली र राष्ट्रिय प्रतिक ज्यादा आदर्श रुप भने पाइन्न । यसरी नेपाल घोषित
रुपमा धर्म निरपेक्ष राज्य र संविधानका धेरै धाराहरु सकारात्मक धर्म निरपेक्षताका विशेषता
युक्त हुँदाहँुदै पनि धर्म निरपेक्ष राज्यका विषयमा विरोधाभाष युक्त संवैधानिक व्यवस्था
भएको राज्यबाट बच्न सकेको छैन ।
अन्त्यमा
राजनीतिक एवम् शासकीय क्षेत्रका व्यक्तिको धार्मिक कार्यक्रममा उपस्थिति, धार्मिक
क्रियाकलापमा राज्यकोषको प्रत्यक्ष अप्रत्यक्ष खर्च, राज्य निर्मित स्थान विशेष र संरचनाको
नाम धर्मसंग जोड्ने, राष्ट्रिय प्रतिक धर्म विशेषसंग जोड्ने, धार्मिक चाड पर्वलाई राष्ट्रिय
मान्यता या सार्वजनिक विदा जस्ता यावत कार्य आदर्श धर्म निरपेक्ष विरोधी कार्य हुन्।
कडाइका साथ सकारात्मक धर्म निरपेक्षता पालन गर्ने देशहरुमा धार्मिक प्रतिकात्मक चिन्ह
राज्य सम्बन्धित स्थानमा प्रदर्शन गर्न निशेध सम्म गरेको पाईन्छ । जस्तोकी पञ्जावी पगरी
लगाएर विद्यालय प्रवेशमा रोक लगाउनु । फेरि ती साँस्कृतिक कार्य र चाड पर्वलाई धार्मिक
मान्न सकिन्न जस्को ईश्वरिय आश्था र धार्मिक साधनासंग सम्बन्ध रहन्न ।
हामीमा मात्र नभई कतिपय घोषित सेकुलर राज्यमा राजनीतिक दल र शासकिय क्षेत्रबाट
बहुसंख्यक धर्मावलम्वीले प्रोत्साहन एवम् पक्षपोषण गरेको पाईन्छ । यसको विपरित सेकुलर
या धर्म निरपेक्ष घोषणा नगरेका राज्यमा संवैधानिक विशेषता र शासकिय क्रियाकलाप धर्म
निरपेक्षता अनुकुलको पनि हुन सक्दछ । यी दुबैको राम्रो उदाहरणमा भारतलाई लिन
सकिन्छ । आजको दिनमा भारत संवैधानिक रुपमा घोषित सेकुलर राज्य हो । तैपनि त्यहाँका
दल र शासकिय स्तरबाट बहुसंख्यक धर्मावलम्बीहरुलाई विभेदपूर्ण प्रोत्साहन गरेको पाईन्छ ।
इन्दिरा गान्धी प्रधानमन्त्री भएको बेला सन १९७६ को ४२ औँ संविधान संशोधनमा
संविधानको प्रस्तावनामा सेकुलर राज्यको घोषणापूर्व भारत घोषित धर्म निरपेक्ष राज्य थिएन
। त्यस बखतका अन्य संवैधानिक प्रावधान र शासकिय क्रियाकलाप आजको भन्दा
सकारात्मक धर्म निरपेक्षताको आशय अनुकुल थिए ।
अन्त्यमा कट्टर धर्म सापेक्ष जनताको चेतनाको अबस्थामा आदर्श धर्म निरपेक्षता व्यवहारमा
उतार्ने कठिन कार्य हो । अल्पसंख्यक कट्टर धर्मावलम्वी धर्म निरपेक्षतालाई वहुसंख्यक
धर्मावलम्वीको विरोधका रुपमा लिने गरेको पाईन्छ । धार्मिक कट्टरताका स्थानमा तर्कपूर्ण र
विज्ञानसम्मत विश्वासको जनभावना विकाससंगै धर्म निरपेक्षताको आदर्श पालन क्रमश
सम्भव हुदै जाने विषय हो । हाम्रोमा देखिएको विरोधाभाष यहि चेतनाको स्तर र धर्म
निरपेक्षताको अवसरमा तालमेल नमिल्नाले नै भएको हो ।
लेखक जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी सदस्य हुन्।