काठमाडौं, असोज ६ । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक हालका लागि भन्दै वितरण नगर्न निर्देशन दिएको छ ।
पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकका शब्दहरु कूटनीतिक मान्यताअनुसार नभएको र थपिएको भूभाग अनुसार क्षेत्रफल लगायत अन्य कुरा पनि नमिलेको टिप्पणी सम्बन्धित मन्त्रालयबाट भएपछि तत्काललाई उक्त पुस्तक बजारमा नल्याउन सरकारले निर्देशन दिएको एक मन्त्रीले बताए ।
यस अघि यो पुस्तक शिक्षा मन्त्रालय मातहत प्रकाशित गरिएको थियो । नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ ।
लिम्पियाधुरालगायत क्षेत्र समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गर्नुअघि नेपालको क्षेत्रफल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमात्र थियो ।
पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिरोध जनाएको बुझिएको छ ।
उक्त पुस्तक करीब ५ सयको संख्यामा छापिएको बताईएको छ । कक्षा ९ देखिका बिद्यार्थीलाई स्वाध्ययन गराउने भन्दै शिक्षा मन्त्रालयको निर्देशनमा उक्त पुस्तक प्रकाशित भएको थियो ।