सम्माननीय प्रधानमन्त्री ज्यू ,
म यो पत्र तपाईको देशको नागरिकको हैसियत शहिद परिवारको सदस्य र एतिहासिक जनआन्दोलन २०६२÷०६३ को अशक्त ÷अपाङ्ग को हैसियतबाट केही प्रश्नहरु उठान गर्न मन लाग्यो । यि प्रश्नहरु गर्ने अधिकार मलाई पनि हुने सोचको साथ म बिनम्रता पुर्ण तरिकाबाट हजुरलाई यो पत्र मार्फत केही प्रश्न राख्न चहान्छु ।
कोभिड १९ को महामारी बिश्वभर फैलिदै गर्दा त्यसको चपेटाबाट हाम्रो मुलुक पनि अछुतो रहेन ।यही कोभिड १९ को कारण हाम्रा नेपाली नागरिकहरु केही मात्रामा एकिकृत गर्ने मौका पनि राज्यलाई जुर्यो । लकडाउनको सुरुवातसँगै नेपाल भित्रिने नागरिकहरु कयौं दिन सिमानामा बिचल्ली बनाएर राख्ने काम सम्म भयो ।
कयौं नेपालीहरु कयौं दिनरात लगाएर कयौं दिनको लामो यात्रा तय गर्दै घरमै पुगेर मर्छौ भनेर ,कतिले आफ्नो घरपरिवारको मुख हेर्ने र बाँच्ने बचाउँने सोचको साथ घर पुगे ।त्यतिबेला नेपाल भित्रिनेहरुलाई यो कोरोना संक्रमण सबै भारतबाटै आएको हो सम्म भनेर आफ्नो नागरिक उपर आक्षेप लगाउने काम पनि जिम्मेवार निकायबाट नभएको होईन ।
सम्माननीय प्रधामन्त्री ज्यू ,
घरमा आएर रोगले भन्दा भोकको कारणले बाँच्ने कुनै बिकल्प नपाएर पुनःआफ्नो ज्यान जोखिममा राखेर भारततिर फर्कनेको लर्को पनि कम छैन । सिङ्गो मुलुककै बदनाम हुने काम भारतमा नेपालीहरु फर्कनुले भएको छ । आफ्नो देशको नागरिकको ज्युधन र गाँसबाँसको सुरक्षा गर्नु तपाईको सरकारको दायित्व होइन र प्रधानमन्त्री ज्यू ?
बिश्वको दोस्रो कोरोना संक्रमित मुलुकमा आफ्नो देशको नेपाली नगारिकहरु किन र के खोज्न गए होलान् ?रोगले भन्दा भोकले पिल्सिएर मर्ने अन्तिम अवस्था,घरपेटीबाट भाडा तिर्न नसकेर अपहेलित भएर निकालिएको कथा ब्याथा सहित धादिङ्गको गणेश बहादुर नेपाली तपाई हाम्रो एक उदारणिय पात्र मात्रै हुन ।
कोरोनाको कारण जनताहरु रोगले भन्दा भोकले मर्ने अन्तिम अवस्था सृर्जना भएको छ । जनताले सरकारको आदेश मानेर बसे पनि आज सम्म सरकारसँग कुनै योजना नभएको कारण हालको अवस्था झन संकटपुर्ण बन्दै गैरहेको छ ।तपाईको सरकारले भोका र नाङ्गो जनताको जिम्मा सिडिओ र प्रवक्तालाई लगाएर जिम्मेवार निकाय दुलो भित्र बस्ने छुट कसैलाई छैन ।
यति लामो कोरोनाको महामारीले दिनप्रतिदिन जनताहरु संक्रमणको कारणले मर्ने र संक्रमण हुने अवस्था बढ्दो छ ।यो बिचमा स्वास्थ्य क्षेत्रमा तपाईको सरकाले के तयारी गरेको छ ?संक्रमित र मृत्युदर तिब्र रुपमा थपिदै जाँदा उपचार गर्ने क्षमता कति बढाउँनु भयो ?
भोका जनता र रोजगार गुमाएका कामदार,स–साना ब्यवसायी,किसान र यातायत मजदुरका घरभाडा छुटको बारेमा के कस्तो योजना बनाउनु भएको छ ?के त्यसको डाटा तपाईहरुसँग छ ?आज यसको जवाफ तपाईको नेतृत्वको सरकाले दिनुपर्ने अवस्था आएको छ प्रधानमन्त्रि ज्यू ।
सम्माननिय प्रधानमन्त्री ज्यू,
आज रोग र भोकबाट आहात जनतालई सिडिओ र प्रबक्ताको भरमा छाडेर तपाईको सरकार पन्छिन खोजिरहेको अवस्था देखिन्छ । लकडाउन र निषेधाज्ञाले तहस नहस भएको अर्थतन्त्रलाई उकास्नको लागी तपाईहरु सिधाँ नागरिकसँग सम्बाद गर्ने आँट र हिम्मत किन गर्नुहुन्न ?
कोरोना संक्रमण सँगै आफ्ना नागरिक एकिकृत गर्ने मौका आयो,नेपाल भित्रै रोजगारी उन्मुख गर्ने बेला आयो ,सबैले नेपाल भित्रै अव रोजगारी पाउने छ भन्ने कुरामा नेपाली नागरिक ढुक्क थियौं ।तर यी सबै कुरामा सरकार र सरोकारवालाको ध्यान नभएकोले फेरी नेपालीहरु बैदेशीक रोगारीमा फर्कन थाल्नुले स्पष्ट भईसकेको छ ।तपाईले लेखेको घोषणा पत्र र बोलेको भाषणलेतपाईलाई सत्तामा पुर्याउन नागरिकले थुप्रै हतकण्डा अपनाए ।आज ति नागरिक आफैलाई लज्जाबोद्य हुन थालेको महशुष गर्दै छन् सम्माननीय प्रधामन्त्री ज्यू ।
नेपाली नागरिकले अन्धभक्त तरिकाले बिश्वास र भरोषा गरेका थिए अनि गर्व पनि गरेका थिए ।साँच्चिकै रुपमा नेपालमा अब सर्वहारा बर्गको सरकार बनेको छ ।आमुल परिवर्तन हुनेछ ,कोही भोको र कोही नाङ्गो बस्नु पर्ने छैन ।सम्बृद्ध नेपाल र सुखी नेपाली अवश्य हुने छ ।तर बिडम्बना त्यो दिन कहिल्यै पनि आएन ।त्यो दिन लगभग तिन बर्ष झण्डै दुई तिहाईको सरकार चल्दै छ तर आज सम्म देख्न र महशुस गर्न पाएका छैनन् नागरिकहरुले ।
सम्माननीय प्रधामन्त्री ज्यू ,
पार्टी र सरकारको नेतृत्व तपाई आफैले गरिरहनु भएको छ । के नेकपा भित्र पार्टीको सिद्धान्त पद्धति र बिधान छैन ? कतिन्जेल जनताका आवाज र समस्याहरुमा कानमा तेल हालेर बस्नु हुन्छ तपाई ?आज देश र जनताको समस्या समाधान गर्न तपाईलाई फलामको चिउरा साबित भएकै हो त ?सँधै आन्तरिक कलह र कुर्सीको लडाईमा लडिरहँदा देश र जनताको समस्या बिकाराल बन्दै गैरहेको तर्फ तपाईको ध्यान कहिले जाने हो ?
तपाईको झण्डैं दुईतिहाईको सरकारको सुशासन र सम्बृद्धि यही हो ?देशमा रोग भोक र पिडाको चाङ्ग बढ्दै छ ।तपाई भने पार्टी भित्र सिन्डीकेट प्रणली लाद्धै पार्टी भित्र युवा र जोशिला नेता कोही नभए जस्तो गरी जनताबाट हारेका ,जनताले नस्वीकारेका ७० बर्ष प्रवेश गरेका नेतालाई सत्तामा लानको लागी राष्ट्रियसभामा मनोनित गर्दै हुनुहुन्छ ।तपाई भित्र नाताबाद भाईभतिजाबाद,इलाकाबाद र कृपावाद कति दिन सम्म चल्छ र चलाईरहनु हुन्छ ?यसखालका गतिबिधिले तपाईको सम्बृद्ध नेपाल शुखी नेपालीको नारा पुरा हुन सक्छ ?प्रधानमन्त्रि ज्यू ।
तपाईको काम र ब्यवहारले यतिबेला नेपाली जनताहरुको मन आक्रान्त भएर आन्दोलनमा होमिने अवस्था आएको छ ।अहिलेको यो बिषंम परिस्थीतिमा काठमाण्डौंमा देखिएको आन्दोलनको रुप पनि सरकारका यस्तै गतिबिधिको परिणाम हो ।यस्तो संकटमासरकार मुक दर्शक रहेर नागरिकको समस्या प्रति चिन्तीत नहुने हो र नागरिकका समस्या समाधानमा सरकारको तर्फबाट उचित योजना र कार्यक्रम संचालन नगर्ने हो भने कहिले पुगिन्छ समाजवाद र साम्यवादमा ?
सम्माननीय प्रधामन्त्री ज्यू ,
तपाईको र तपाईको सरकारको लार्पवाही र तपाईको विबेकहिनताले कति दिन राज गर्नु हुन्छ?फेरी नेपाली जनता नेपाल बिद्युत प्रधिकरणमा कुलमान घिसिङ्गलाई नै पुर्ननियुक्तिको माग गर्दै देश भर शान्तिपुर्ण आन्दोल गरिरहँदा आन्दोलनकारी माथी राजा र राणाकालीन समयमा भन्दा पनि नाङ्गो प्रहरी दमन भैरहेको छ ।
सम्माननिय प्रधानमन्त्री ज्यू ,
भर्खरै जापानका न्यायमन्त्रि कात्सुयूकि कावाईले आफु बिमारी हुँदा सरकारी काममा बाधा आउने देखी राजिनामा दिएका छन् ।क्यानडामा ४६ बर्षीय प्रधानमन्त्री जस्टिन ट्रडो बिना सुरक्षा जनताहरुको बिचमा हातेमाले गर्दै हिडेका छन् ।नेदरल्याण्डका प्रधानमन्त्री मार्करुट साईकल यात्रा द्धारा अफिस र घर गर्छन् भने अष्ट्रिेलियाका प्रधानमन्त्री मरिसनको जीवन पनि जनताहरुकै बिचमा बिना सुरक्षा हातेमालो गर्दै हिडिरहेका छन् ।बिश्वका धनि मुलुकका मन्त्री प्रधानमन्त्रीहरुको अवस्था सँग तुलना गर्दा हाम्रो देशको सरकारका मन्त्री र प्रधानमन्त्रीहरु भने कसरी बिलासिताको उपभोग गर्न सकिन्छ भनी सरकारको सम्पतिको बढी भन्दा बढी उपभोग गर्ने दौड धुपमा लाग्नु दुर्भाग्य छ ।
सम्माननिय प्रधानमन्त्रि ज्यू,
हिजो खाली खुट्टामा काठमाण्डौं प्रवेश गर्नु हुने तपाईहरुको कहाँबाट कसरी ठडियो करोडौंका महलहरु ?कहाँबाट आयो अरबौंका चिल्ला गाडीहरु ?कमसेकम नेपाली जनता यो महामारी र भोकमरीमा मर्दा समेत किन बुझ्नु हुन्न तपाईहरु ?
राजनितिमा होमिएर आज अरबौं सम्पतिको मालिक बन्न सफल तपाईहरु किन देख्नु हुन्न ति पिडितहरुको आँशु ?भोका जनताहरुले कति दिन कहिले सम्म कोरोनाको कहर सहेर बस्नु पर्ने ?अब देशभित्र जनताको धर्यताको जाँच गर्ने समय पनि आएको छ प्रधानमन्त्री ज्यु ।
पहिलो त देश र जनताको सबैखाले अवस्थामा परिवर्तन ल्याउन सबैलाई रोजगारी दिन सरकारले कदम चान्लु पर्दछ । ,भोक र रोगको कारणले कुनै जनता मर्नु नपरोस ।सबै जनताका घरघरमा स्वास्थ्य र शिक्षाको पहुँच पुरयाउन सक्नु पर्यौ ।नेपाली नागरिकको हरेक दुःख आपत ,बिपत र बेरोजगारीले निमत्याएको मानसिक दुःख र पिडालाई छिनभरमै उलट पुलट ल्याउन सकोस तपाईको सरकाले ।
सम्माननीय प्रधामन्त्री ज्यू ,
यो मुलुक तपाईको घर हो हामी जनता सबै तपाईको परिवार हौं ।हामी जनताको शिक्षा ,रोजगार अनि गाँस बाँस कपासको ग्यारेन्टी कहिले सम्म गर्न सक्नु हुन्छ प्रधानमन्त्री ज्यु ?
आफ्नो प्यारो घरपरिवार देश नै छोडेर प्रवासिने रहर कसैलाई हुँदैन तपाईको देशको जनता जानि नजानी बाध्यता र बिवसतापुर्ण रुपमा साठी डिग्रीको तापक्रममा आगोको जस्तो तापमा होमिन गएका छन् ।ति जनताको जीवनको रक्षा गर्ने कर्तब्य तपाई र तपाईको सरकारको होइन र ?
बालुटार सिहंदरवारमा मात्रै तपाई सिमित नरहनु होस ।यो भन्दा बाहिर पनि नेपाल र नेपाली छ ।सबै मुलुकबासी मेरो परिवार हो ।सबै मेरो नेपाली भुभाग हो भन्न नबिसर्नुहोला प्रधानमन्त्री ज्यु मेरो हजुरसँग बिनम्र अनुरोध छ ।
-उत्तर बहादुर खड्का :पुर्व प्रवासी नेपाली संघ भारतका सदस्य ,२०६२÷०६३ को जनआन्दोलको अशक्त तथा घाईते र शहिद परिवारका सदस्य हुनुहुन्छ ।