हरेक वर्ष विश्व प्राथमिक उपचार दिवस सेप्टेम्बर महिनाकाे दाेस्राे शनिबार मनाइने गरिन्छ । याे दिन आई.एफ.आर.सी. ( IRFC i.e. International Federation of Red Cross) र Red Cresent Societies ले २००० सालदेखि मनाउँदै आएको छ । आई.एफ.आर.सी. विश्वास गर्दछ कि प्राथमिक उपचार सबैभन्दा जाेखिममा पर्ने सबैका लागि पहुँच याेग्य हुनुपर्दछ र याे पनि एक व्यापक विकास दृष्टिकाेणकाे अभिन्न हिस्सा हुनुपर्दछ ।
दैनिक र सङ्कटमा परेका मानिसकाे प्राथमिक उपचारले कसरी जीवन बचाउन सक्दछ भन्ने बारेमा जनचेतना जगाउनका लागि प्राथमिक उपचार दिवस मनाइन्छ । प्रत्येक वर्ष १०० भन्दा बढी रेडक्रस र रेडक्रिसेन्ट साेसाइटिजले सेप्टेम्बरकाे दाेस्राे शनिबार विभिन्न गाेष्ठी र समाराेहरू आयाेजना गर्दछ र प्राथमिक उपचारका फाइदाहरू बारे सचेत गराउँदछ । याे दिवस सबैका लागि प्रथामिक चिकित्सा प्रशिक्षणलाई प्राेत्साहित गर्न र दुर्घटनामा आवश्यक पर्ने प्राथमिक उपचारकाे महत्त्वका बारेमा चेतना जगाउन पनि मनाइन्छ । २४ जुन १८५९ मा जेनेभाका एक जवान हेनरी डुनान्टले साेलफेरिनाेकाे युद्धपछि भयावह पीडा र आक्राेश देखे । उनले उनीहरूलाई आवश्यक सामग्री आपूर्ति गरे र अस्थायी अस्पतालहरुकाे स्थापनामा सहयाेग गरे । उनकाे पुस्तक ” Memory of Solferino” ले सन् १८६३ मा The International Committe of the Red Cross ( ICRC) काे स्थापनालाई प्रेरित गरेको पाइन्छ ।
डाक्टर आउनुभन्दा वा अस्पताल पुग्नुभन्दा पहिले गरिने उपचार नै प्राथमिक उपचार हाे । जुन बिरामी वा चाेटपटक लागेका मानिसकाे जीवन बचाउन, अवस्था बिग्रनबाट राेक्न वा सुधारलाई बढावा दिन प्रदान गरिन्छ । उदाहरणका लागि एसिड अट्याकबाट पीडित मानिसलाई दिइने प्राथमिक उपचार भनेको सफा पानी जलेको ठाउँमा पखाल्नु हाे । यदि कसैलाई हर्ट अट्याक छ र हृदय राेगको समस्या छ भने व्यक्ति नाडी (pulse) बिना अचेत र क्रियाविहीन हुन सक्छ र सास फेर्न सक्दैन । त्यस्तो अवस्थामा सिपीअार(Cardio Pulmonary Resuscitation)दिएर उनीहरूकाे जीवन बचाउन सकिन्छ । ट्राफिक दुर्घटनामा प्राथमिक उपचार प्रदान गर्नाले घाइतेहरूलाई खराब हुनबाट मात्र बचाउँदैन, व्यक्तिलाई छिटाे निकाे हुन पनि मद्दत गर्दछ।अवरुद्घ एयरवेले कसैलाई तीन देखि चार मिनेटमा मार्न सक्छ , तर एम्बुलेन्स अाउन यसले दस मिनेट भन्दा बढी समय लिन सक्दछ। त्यसैले साधारण प्रक्रिया जस्तो कि कसैकाे एयरवे खाेल्दा उनिहरुकाे जीवन बचाउन सक्छ। पर्याप्त र समयमै सहयाेग वा उपचार नपाउनाले प्रत्येक वर्ष लाखौं व्यक्ति घाइते हुन्छन् र मृत्युु व्यहोर्नु परिरहेको हुन्छ । सामान्यतया प्राथमिक उपचारले आपतकालीन र दैनिक आपतकालकाे समयमा मृत्युु , घाइते र प्रभाव कम गर्दछ । यसकाे प्राथमिक लक्ष्य जीवनकाे रक्षा गर्नु र अवस्थालाई बिग्रनबाट बचाउनु हाे । प्रत्येक चाेटि याे आवश्यक हुँदैन कि काेही मेडिकल स्टाफले मद्दत गरुन् । आपतकालमा साधारणा व्यक्तिले पनि मद्दत गर्न सक्दछ र प्रथमिक उपचार प्रदान गरेर कसैको ज्यान बचाउन सक्छ । दैनिक अवस्थामा प्राथमिक उपचार, गल्तीले आफैँलाई भान्साकाे धारिलो चक्कुबाट चाेट लाग्दा वा सिँढीबाट खसेर घाइते हुँदा आफैँ पनि प्रयाेग गर्न सकिन्छ ।
प्राथमिक उपचारकाे मूल उद्देश्य भन्नु नै चाेट र भविष्यकाे अशक्ततालाई कम गर्नु हाे । त्यसैले प्राथमिक उपचारकाे ज्ञान हुनु निकै जरुरी छ। प्राथमिक उपचारकाे सीप विद्यालय स्तरबाटनै सिकाउनु अपरिहार्य छ। यदि प्राथमिक उपचारले कसैको ज्यान बचाउन सकिन्छ भने जिन्दगीमा याे भन्दा पुण्यकाे काम के हुन सक्दछ र हाेइन र ?
(लेखक- ब्याचलर अफ मेडिकल बायोकेमेस्ट्री, सातौं सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।)