समाजवाद हैन व्यक्तिवाद तर्फ नेकपाः संसदीय व्यवस्थालाई समेत चुनौती

समाजवाद हैन व्यक्तिवाद तर्फ नेकपाः संसदीय व्यवस्थालाई समेत चुनौती

  • शनिबार, भदौ २०, २०७७
  • -एन्डीज शर्मा

  • 23.4K
    SHARES

कार्ल माक्र्स र फ्रेडरीक एङगेल्सले सन् १८४८ मा तयार पारेको कम्युनिष्ट घोषणा पत्रलाई आधार मानेर त्यस्तो परिकल्पना गरेर संसारभर कम्युनिष्टहरु जन्म, उदय र पतन समेत भईरहेकै छ ।
त्यस्तो घोषणा पत्रका आधारमा सन् १८७१ मा फ्रान्समा मजदुर बिद्रोहका आधारमा निर्माण भएको पेरिस कम्युन ढलेको थियो केवल ७२ दिनमा । त्यस पछि सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा भएको बिशाल क्रान्ति पछि निर्माण भएको सोभियत समाजवाद पनि सन् १९५६ पछि उद्धार पूजीवादतर्फ प्रवेश गर्दै अन्ततः सन् १९८९ मा आईपुग्दा सोभियत समाजवादको विघटन सगैँ समाप्त भयो ।
त्यस पछि चीनमा सन् १९४९ अक्टोबर एक मा माओको नेतृत्वमा निर्माण भएको जनवाद समाजवाद पनि सन् १९७८ मा आईपुग्ला देङ स्याओ पिङले शसोधन गरे र उद्धारीकरण लागू गरे । यद्यपि, चीनले आधारभूत कम्युनिष्ट सिद्धान्त नछोडी चीनीया बिशेषता सहितको समाजवादको नारा कायम राखेर अघि बढेको छ । सन् १९५९ मा क्युवामा चे ग्वेभारा र फिडेल क्यास्ट्रोले निर्माण गरेको समाजवाद यद्यपि, बाँकी छ । पूर्वी युरोप र केही ल्याटीन अमेरीकी मुलुकहरुमा फरक किसिमको वामपन्थी समाजवाद देख्न सकिन्छ ।
यीनै अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र माक्र्सको घोषणा पत्रका आधारमा नेपालमा पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न विद्रोह, जनयुद्ध जनआन्दोलन हुँदै अहिले देशको सत्ता सम्हालिरहेको छ ।
तर नेपालमा मनमोहन अधिकारीको पालादेखि कम्युनिष्टले सरकार चलाउन थाले देखि २६ बर्षको ईतिहासलाई हेर्दा ६ जना व्यक्तिहरु ८ पटक प्रधानमन्त्री भएका छन् । मनमोहन अधिकारी , पुष्पकमल दाहाल प्रचण्ड ( २ पटक ) , माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली ( वर्तमानमा समेत गरी २ पटक ) प्रधानमन्त्री भए ।
चाहे पार्टीको अधिवेशन महाधिवेशनमा होस् चाहे, चुनावी घोषणा पत्रमा होस् उनीहरुले समाजवादको नारा छुटाएका छैनन् । तर व्यवहारमा कहिले पनि समाजवादमा आधारीत ठोस गौरवपूर्ण घोषणा र व्यवहार देखिएको छैन ।
अझ अहिले आउदा त ब्यापारीक प्रयोजनले निजीकरण भएका स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र र अरु दलाल अर्थतन्त्रका पृष्टपोषकहरु कम्युनिष्ट पार्टीसगँ लुसुक्कै टाँसिएका छन् ।
कम्युनिष्टको आधारभुत सिद्धान्त जनतालाई गाँस बास कपासको सुनिश्चितता, शिक्षा र स्वास्थ्य निशुल्क हुनु पर्ने हो । तर देशमा अहिले कोरोना लागेका मान्छेलाई पैसा नभएका कारण पिसिआर परीक्षण समेत नगरी घर फिर्ता गरिदै गरेका खबरहरु आईरहेका छन् । पटक पटक गर्नुृ पर्ने पिसिआर मंहगो समेत हुदै गएको छ । यसका ठेकदारहरु पनि निजी कम्पनी चलाईरहेका दलालहरुकै हातमा छ ।
अर्कोतिर संसदीय व्यवस्था कम्युनिष्टको सिद्धान्त भित्र पर्दैन, यसलाई लेनिन्को भाषामा केवल उपयोग गर्न सकिन्छ विद्रोहको तयारीका लागि ।
तर नेपालमा कम्युनिष्टहरु संसदीय व्यवस्थामा गए पछि आदर्श मुल्य मान्यता सबैबाट च्युत हुदै समाजवाद हैन व्यक्तिवाद तर्फ लिप्त भएको स्पष्ट देखिन्छ ।
०६४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं २ बाट पराजीत भएका माधव कुमार नेपाललाई समानुपातिक सांसद बनाएर अन्ततः प्रधानमन्त्री समेत बनाईयो ।
अहिले आँउदा निर्वाचन हारेका वामदेव गौतमलाई राष्ट्रिय सभामा शपथ खुवाईदै छ र नारायणकाजी श्रेष्ठले यस अघि नै शपथ लिएर बैठकमा गईरहेका छन् । श्रेष्ठ पनि गोर्खाबाट निर्वाचनमा बाबुराम भट्टराईसगँ पराजीत भएका थिए ।
यति सम्म कि वामदेव गौतमलाई अब कुनै मन्त्री सहित उपप्रधानमन्त्रीको हैसियत दिने बारे पनि निर्णय हुन सक्छ भनिएको छ । यी सबै घटनाक्रमले कम्युनिष्टहरु केवल पद, प्रतिष्ठा शक्ति र सत्ताका लागि लुछाचुडी गरीरहेको भन्दा बाहेक अर्को अर्थमा जनमानसले बुझेको छैन । अहिले पार्टी भित्रैबाट राजीनामा माग्ने पद छोड भन्ने देखि सबै बिषयलाई नियालीरहेका जनता आफैमा भने कोरोना, त्यसका नाममा भएका निषेधाज्ञा र लकडाउने रोजीरोटीको अभावमा पीर चिन्ताले चटपटाउने मात्र हैन आत्महत्या गर्ने क्रम समेत बढेको छ । देशमा रोजगारीको अभाव भए पछि सयौ नेपालीहरु पुनः विदेशतिरै हाम फाल्न लागि परेका छन् ।
सुविधाको कुरा गर्ने हो भने त अझ मंहगा गाडीहरुको खरीद, कम्युनिष्ट पार्टीबाट राष्ट्रपति बनेकालाई रातो कार्पेट , गाडी हिशाब नै छैन तर जनतालाई राहत कता छ ?
अरु त कुरा छाडौँ अहिलेको कम्युनिष्ट सरकार २०१५ साल पछि पहिलो पटक दुई तिहाई जनमत सहित सरकार चलाउने अवस्थामा छ । उसले चाँहदा संविधान शसोधन हुन्छ ।
पूर्व एमाले कार्यकारी प्रधानमन्त्रीको पक्षमा थियो र पूर्व माओवादी कार्यकारी राष्ट्रपतिको पक्षमा थियो । तर यी धारणा र सिद्धान्त लागू गर्न उनीहरु एक शब्द निकाल्दैनन् । बरु ससदको निर्वाचन समेत हारेका बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खोल्न सविधानको संसोधन गर्नेतिर उनीहरु कस्सिएका थिए तर पार्टी भित्र र बाहिरको बिरोध पछि मत्थर भए । विदेशमा अलपत्र नेपालीहरुमाथि मंहगो टिकट र क्वारेन्टाईन खर्चको भारी बोकाएर यता मन्त्री हाकिमका लागि महंगो गाडी र कार्पेट खरिद गर्दै गर्दा कम्युनिष्ट घोषणा पत्र कमरेडहरुले पढे पढेनन् होला ?
माधव नेपाल देखि वामदेव सम्मको प्रकरणमा आईपुग्दा बेलायती मोडलको यही पूजीवादी संसदीय व्यवस्थाको समेत खिल्ली उडाउने काम कम्युनिष्टहरुले गरीरहेका छन् ।
त्यसो भए कार्ल माक्र्सको घोषणा पत्र, हँसिया हथौडाको झण्डा के का लागि राखेको कमरेडहरु ? सगैँ जेल बसेका डेकेन्द्र राजवंशीले बल्खुमा झुण्डिएर आत्महत्या गर्दा कमरेड ओली सहितको मन पोल्यो पोलेन ? घाईते जनयुद्धका लडाकुहरु उपचार नपाएर छटपटाउदै गर्दा, वेपत्ताहरुले आफन्तको खोजी गरीरहदा, शहीद परिवारले दुखः पाउदै गर्दा मासु पकाउदै गरेको फोटो सार्वजनिक हुने कमरेड प्रचण्डलाई मनमा अलिकति पिर छ कि छैन होला ?
त्यो भन्दा तलका अरु केन्द्रीय सदस्य, स्थायी समिति सदस्य, पोलिटब्युरो हुन र मन्त्री हुन लालायीत भएर नेताका पछि धाईनै रहेका छन् । अझ तल जाँदा ठेक्का पार्ने, योजना लगेर कमिसन खाने, चुनाव खर्च उठाउने, आफ्ना मान्छे भर्ती गर्न तल्लीन त कति हो कति ?
यो दशकौ सम्म कम्युनिष्टहरुले चलाएको सत्ताबाट जनतालाई शिक्षा र स्वास्थ्य निशुल्क गर्ने क्युवाको अलिकति पनि मोडल लागू गरेको भए ? भेनेजुएलाले जत्तिको देशको खानी तथा उद्योगहरुलाई राष्ट्रियकरण गर्न अलिकति प्रयास गरेको भए ? अलि सादा र आदर्श जीवन नेताले बिताएको भए तल अलि राम्रै शिक्षा जाने थियो कि ?

व्यक्तिवाद तिर किन जाँदै छ त ?
कम्युनिष्ट पार्टी भित्र मुख्य नेतृत्वको मातहतमा सबै पक्ति अनुशासित हुनु पर्ने हो । तर यहाँ त्यो देखिदैन । मुख्य नेतृत्व ढालेर आफू नेतृत्व हुन अर्को लागेको छ । त्यसको हिशाब त परै छाँडौ ।
अहिले एनजिओ र आईनजिओको मोडलमा चल्ने प्रतिष्ठानहरु धमाधम व्यक्ति पिच्छे निर्माण गरिदैछ । पुष्पलाल स्मृति प्रतिष्ठान, मदन भण्डारी फाउन्डेसन, मनमोहन स्मृति प्रष्ठिान, तुलसीलाल अमात्य प्रतिष्ठान , अब केही समय पछि ओली फाउन्डेसन आउला अहिले नै झलनाथ खनालको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलिरहेको छ । सर्लाहीमा रहेको यो प्रतिष्ठानलाई बिषालु सर्प पाल्न ७२ करोड रुपैया प्रदेश सरकार र स्थानीय तहले दिदै छ ।
यो नेताकै नामबाट यति धेरै प्रतिष्ठानहरु किन तयार भईरहेका छन् । यो भनेको व्यक्तिलाई ऐतिहासिक सावित गर्ने गराउने र महान बनाउने प्रकृया हो । र यो सबै कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएको भनिएकै आधारमा खडा भएका छन् । तर आखिर वास्तविक जनताका लागि समाजवाद ल्याउन उनीहरुले कति सम्म पहल चाले त ? जनताको दुखःको साथी कहिले बने त भनेर खोतल्ने ठाँउनै छैन ।

उनीहरु पञ्चायत कालमा चप्पल लगाएर भूमिगत भएका थिए होलान् गाँउ गाँउबाट । तर आज राजधानीमा सुविधा सम्पन्न महल नहुने कम्युनिष्ट नेता कम छन् । चिल्ला गाडी र पिएसओ सुरक्षाकर्मी नराख्ने नेता मन्त्री कमै होलान् । यसले समाजवादको यात्रा गराउला भनेर कसरी आशा गर्न सकिन्छ ? भियतनामको हो चि मिन्हलाई हेरौँ, क्युवाका फिडेल क्यास्ट्रोलाई हेरौँ । उनीहरुले देशलाई समाजवादीकरण गर्न आफूले कति त्याग गरे ।
तसर्थ समग्रमा हेर्दा सत्ताधारी नेकपा समाजवाद हैन व्यक्तिवादी नवउद्धारवादी पुजीवादतिरै डोरिएको छैन भनेर कसले भन्ला र ? बाँकी कसरी बुझ्ने जनताकै मस्तिष्कमा भर पर्ला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी