पोखरा , १८ भदौ ।
ढोरपाटनमा आएको बाढीपहिरोले गरेको क्षतिको अवलोकन तथा पिडीतलाइ राहत वितरण गर्न बागलुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर पोखरामै रोकिएको छ।
खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
‘स्याङ्जासम्म पुगेको थियो तर मौसम खराब रहेकाले अगाडि बढ्न नसकेपछि पोखरामा अवतरण गरिएको हो,’ भट्टराईले भने।
बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ। ३६ जना अझै बेपत्ता छन्।
टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन्।
बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ। ‘मौसम सामान्य भएपछि जान्छौं, नभए फर्किनेबाहेक विकल्प रहेन,’ उनले भने।
बाढीले दजनौँ घरहरुमा क्षति तथा बगाएको छ । अहिले पनि बाढी निरन्तर आइरहेको छ ।