समयले डसेर
आफ्नै विश्वासका जून-घामहरू
किन यसरी अस्ताइरहेछन्
आज एकाएक जीवनको एक्लो मतानबाट ?
रहरहरू मुस्कुराउने जङ्गलभित्र
डढेलो सल्किएर
आफ्नै सपनाहरूले पोल्न थालेपछि
यतिखेर म,
लमतन्न पल्टिएको छु – सहिदगेटको छायाँमुन्तिर !
एउटा सुकिलो अर्धवैंसे मान्छे
सङ्ग्रालय नजिकै बसेर
बटुवाहरूलाई सुनाइरहेछ – जनयुध्दको सवाई !
बारूदको घुम्टो ओढेर
वलिदान मुस्कुराइरहेको आकाशमा
म एकटकले हेरिरहेछु
निम्बस बादलले बनाउँदै मेट्दै गरेका आकृतिहरू !
जब मेटिन्छन्
आफ्नै रगतले कोरिएका तस्विरहरू
सायद,
म जस्तै दुखी बन्दो हो – त्यो चित्रकार पनि !
यतिबेला,
म फेरि सम्झँदै छु
आफैँले तरी आएका भयावह नदीहरूको कथा !
तिम्रो चुल्ठीको शीरफूल
भन न प्रिया,
कसरी झर्यो खुत्रुक्कै चिसो जमिनमा ?
केहि त पक्कै भएको छ
र त यो वतास पनि उल्टो बहँदैछ !
किनारामा उभिएर
कसले सुनाइरहेछ – नदीलाई खडेरीको भजन
र त्यो फुङ्ङ उडेको अनुहार
आज किन बिझाइरहेछ -यी आँखाका भरोसाहरूमा ?
मेरी जलजला !
साँच्चै नढाँटि भन है
के तिमी आजभोली सञ्चै त छ्यौ ?
यतिखेर म मेरो रोल्पा सम्झिँदैछु !
यो बेला,
ब्रोडसिटको निधारभरि
पुन: लेखिन सक्छ – एउटा रम्भा कविता !
सडक पेटीमा बसेर
हाब्रेझैँ चिच्याइरहन सक्छन् – एकहुल गोठालाहरू
सलाईको काँटी कोरेर
फेरि सल्काउन सक्छन् – वनडढेलो शिकारीहरूले
प्यारी जलजला !
वसाहाजस्ता नाङ्गेबाबाहरूले
उल्टो भट्याउन सक्छन् – गणतन्त्रको भैलेनी
र कुनै अदृश्य हवनकुण्डमा
चढाइन सक्छ – हाम्रा करोडौं सपनाहरूको हवन !
यो उदास गीत सुनेर
बौरिन सक्छन् – आर्यघाटमा निदाएका मूर्दाहरू !
उहि पुरानो वालन खेल्दै
फेरि मडारिन सक्छ – एउटा मुर्कट्टा आतङ्क
विनबाजाको धुन बजाएर
सर्पले उल्टो नचाउन सक्छ – सपेराहरूलाई
गतिको काँटा हरायो भने
पुन: बिग्रिन सक्छ – यो जिन्दगीको भित्ते घडी
र सदाका लागि गुमाउन सक्छ
इतिहासले आफैमाथिको अन्तिम विश्वास पनि !
थाहा छैन्, जलजला !
यतिखेर –
मैले रेट्ने सारङ्गी लाटो बनेको छ कि
मेरा गीतहरूले आफ्नै आवाज गुमाएका छन् ?