दिनभरी कामको थकानले निकै गलेको महशुस गर्दै थिए। साथीहरू घर तिर फोन गर्दै थिए। रमाइलो कुराकानी सहित भिडियो देखाउदै खुशी हुँदै थिए। बेलुकी खाना खाईवरि ओछ्यानमा आँखा चिम्लेर पल्टिरहेको थिए। बा को मुख सम्झन।
अब बा अफिसबाट आउने बेला भयो। गाडीको आवाज बज्न थालेपछि किताब खोलेर पढ्न बस्ने बानीले कहिलेकाही अरुले ढाट्दिदा पनि पत्यार नलाग्ने। बच्पन सङ्गै हुर्किएको डरको झ्याङ उमेर बढ्दै जादा पनि झ्याङ्गिदै गए । डर थियो उ बेला अझै छ।
साच्चै बा सङ्ग डराउनु पर्ने खासै गल्ती गरेको थाहा छैन तैपनी गल्ती गरेको भन्दा बढ्ता दकस लाग्ने। आवाज सुन्ने बित्तिकै लौ अब सकिने भैयो जस्तो भित्र देखिनै मन आत्तिएर आउने अनि बिस्तारै सङ्गै बस्न नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो ।
आखिर किन यत्रो डर लिएर बाचे मैले बा सङ्ग यतिका उमेर सम्म। म मात्रै होईन घरका सबै डराउथे बा सङ्ग। अलिक ठूलो स्वर मात्रै सुनियो भने पनि अब खतरा हुने भयो जस्तै हुन्थ्यो । बेलाबखत आमा सङ्ग सोध्ने गर्छु के साच्चै बा डरलाग्दा नै थिए त ?
घरमा म जन्मे पछि बा ले उ बेला ब्याट्रीबाट बज्ने क्यासेट रेडियो किनेर गाउँ भरी भोज लगाएका थिए रे। हात समाउदै गाउँ गाउँमा डुलाउन लग्थे रे तर याद भए सम्म बा ले काखमा लिएको,रुदा फकाएका भने थिएनन् जुन हिजो आजका बाहरुले गर्नुपर्छ। न कुनै साईकिल किने,न कुनै प्लेन किनेर चलाउन सिकाए न त खेलौना किनेरै,काधमा चढाउदै बोकेर दौडाउनु भयो घोडा बनेर।
बा ले लगाएको कपडा बाट निस्कने कडा पसिनाले उपस्थिति काफी जनाउथे । यति सम्म कि थाकेर तिर्खाएको बाको स्वरले पानी माग्दा नि अगाडि पानीको गिलास राखेर त्यहाबाट निस्की हाल्ने बहाना खोज्दै ट्वाईलेट छिर्थे।
बा सङ्ग बच्पन सङ्गै रहे। त्यसबखत दोहोरो कुराकानी कम नै भए। त्यसैले पनि हुनसक्छ म मा एक्लै बस्न रुचाउने बानी परेको थियो। बा सधैं म भन्दा ढिला सुत्ने र चाडै उठ्ने हुनाले बा को आवाज नै अलरामको घन्टी बन्थे। दिनभर सङ्गै नभए पनि,बा सङ्ग एकदम डर माने पनि साझमा घर फर्कदा भने खुशी नै लाग्थ्यो किनकी बा घरमा फर्कन्थे।
बा घर फर्कदा केहि न केहि बोकेरै आउथे । चाडबाड आउँदा बा लाई पिर्नु पर्दैनथ्यो। आफै घुम्न जाने भन्दै लग्थे।कुनै कपडा पसल छिर्दा यो ठिक हुन्छ भनेर लगाउन दिदा म ठूलो भए पनि ठिक छ भन्थे किनकि बा ले बोलेपछि म हुन्न भन्न सक्दिनथे।
दशैको बेला होस् या अन्य बेला बा ले किनेर ल्याएको कपडा लगाएर गाउभरी हिंड्न अनि अरुलाई देखाउन पाउँदा बास्तबमा ठूलो खुशी अनि सन्तुष्ट प्राप्त हुन्थ्यो।
कहिलेकाही बा घरमा नहुदा जुत्ता खोलेर बस्दा यसो खुट्टा छिराएर बा जस्तै देखिन मन लाग्थ्यो। ऎना हेरेर बा को कपडा,चुच्चे टोपी लगाउदै बा को जस्तै आवाजमा बोल्ने नक्कल गर्दा म पनि बा बने नि झै लाग्थ्यो ।
सम्झना ताजै छ,बा ले आफै चित्र कोर्थे,पढ्ने किताबहरु मेरै अगाडि ल्याएर राख्ने गर्दथे। बा नभएको बेला हेर्ने गर्थे तर बुझ्दिनथे। सबै अक्षरहरु एकनासका देखिन्थे। बिस्तारै बा ले कथा,कविता,उपन्यास लेखेका किताब,पत्रिकाहरु पनि ल्याएर राखेका हुन्थे। न त पढ् भन्थे न त केही तैपनि हेरेर जस्ताको त्यस्तै मिलाएर राखिदिन्थे। डर लाग्थ्यो तै पनि बा ले आउने बित्तिकै त्यही हेर्थे अनि म तिर नजर डुलाउथे म भने सुरुमा बा को अनुहार तिर,टेबल तिर अनि बिस्तारै भुई तिर।
कहिलेकाही बा ले आफन्त कहाँ, साथीहरू कहाँ लग्थे।अरुका बा ले मेरा बा ले भन्दा माया गरेर बोलाको जस्तो लाग्थ्यो । आफुलाई स्वतन्त्र भए झै लाग्थ्यो तर मेरा बा अरुका बा भन्दा कडा र बलियो रैछ्न,हिरो झै लाग्थ्यो ।

घरमा आउने आफन्तहरुले बाबु ठुलो भएसि के बन्ने भन्दा बा बन्ने,बा जस्तै बन्ने भन्थे रे। किनकि म बा जस्तै डरलग्दो बनेर अरुलाई डर देखाउन पाउछु भन्ने लाग्थ्यो। सपना मेरा थिए तर बा ले हिड्न सिकाए,बाटो म हिड्थे तर बा ले बाटो देखाए। म त्यो दिनको पर्खाईमा छु जुन दिन म बा जस्तै बन्न सक्छु।
बा भनेको नाम हो या डर होरु बा सङ्ग जति नजिकिन खोज्छु त्यति धमिलोपन देख्दछु। आँखा तन्काएर सम्झिन खोज्छु झन् झन् मधुरो बन्दै जान्छ।
खै हिजो कुन बेला निदाएछु। बिहानै देखि मोबाइलमा घन्टी बजिरहेको रैछ। आज किन ढिलो सररु आज बिहिवारको ड्युटी समय सुरु भै सक्यो त,ल छिटो आउनु।
बिदेशी भूमिमा छु जानैपर्छ। साच्चै बा को अनुहार अब म कसरी हेरु ?
थाकेको शरीर बोकेर पनि काममा जाने मेरा जस्तै सबै बा हरुलाई हार्दिक नमन।