वर्तमान प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा समृद्ध नेपाल बनाउने लाखौं युवाले सपना देखेका थिए। कुनै सपना देख्नु सामान्य कुरा हो, तर सपना कस्तो धरातलमा कसरी देखियो, व्यावहारिक प्रतिबिम्ब कस्तो हुन्छ र देखेको सपना कसरी साकार हुन्छ भन्ने बारे सामान्य जानकारी राख्नु जरुरी हुन्छ। कुनै सपना साकार हुनु पहिले सपना देखाउन अहम भूमिका खेल्ने तत्व के हो बुझ्नु पर्छ। २००७ साल देखि २०७४ सालको आम निर्वाचन भन्दा पहिले पञ्चायत व्यवस्थाका एकाध बाहेक कुनै सरकार स्थिर हुन सकेनन्। अस्थिर सरकार हुने हुँदा राजनीतिक दाउपेच हुने नै भयो। धेरै राजनीतिक र अराजनीतिक व्यक्तिहरू सत्तामा पुगे। कुनै निश्चित प्रणाली र मापदण्ड विना सरकार बन्दै ढल्दै हुने हुनाले अलि चतुर राजनीतिक खेलाडीहरू सत्ताको नेतृत्वमा पुगे र आफ्नो स्वार्थ पूरा गरे। यसरी कुनै प्रणाली विना नै सरकारका गठन हुने हुँदा बन्ने सरकारको जवाफदेहिता पनि सीमित हुन्थ्यो। यहि पृष्ठभूमिमा आफ्नो दाऊ पर्खेर बसेका राजनीतिक पात्र हुन् केपी ओली। पञ्चायत पछि बहुदलीय प्रजातन्त्र भनियो, यो जहाँ तिनै केहि पुराना खेलाडी र अधिकांश नयाँ खेलाडी राजनीतिमा भित्रिए। यसरी भित्रिने नयाँ खेलाडीका पनि दोश्रो पुस्ता हुन केपी ओली जसले शक्तिको पहिलो स्वाद २०५१ सालमा गिरिजा प्रसाद कोइराला गराएको मध्यावधि चुनाव पछि तत्कालीन एमाले बाट मनमोहन अधिकारी नेतृत्वको सरकारको गृहमन्त्री पद लिन शुरू गरे।
केपी ओलीलाई गणतन्त्र प्रति रुचि थिएन, गणतन्त्रको लागि योगदान त गरेनन् नै र गणतन्त्रको लागि संघर्षरत साथीहरूलाई समेत नकारात्मक उर्जा मिल्नेगरी कटाक्ष गरेर बसे। जो व्यक्ति यो व्यवस्थाको पक्षपाती नै थिएन उसैलाई यो व्यवस्थाको कार्यकारी प्रमुख बनाएर हामीले कसरी समृद्धिको सपना देख्यौं ?
२०६४ सालमा गिरिजा प्रसाद कोइरालाको मन्त्रीमण्डलमा परराष्ट्र तथा उपप्रधानमन्त्री बनेका ओली माओवादीका खरो आलोचक र गणतन्त्र प्रति खासै चासो नभएका राजनीतिक खेलाडी थिए। केपी ओलीले गणतन्त्र व्यवस्थाको निम्ति वास्तवमै कुनै योगदान गरेनन् मात्र होइन, गणतन्त्रको पक्षमा संघर्षरत आफ्नै सहकर्मीहरुलाई नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु एकै हो भन्दै कटाक्ष गर्दै बसे। चेस खेलमा प्याधा पनि अर्काको शक्तिमा कहिले काँही मुख्य पात्र बने जस्तै गिरिजा प्रसाद कोइराला सरकारमा उपप्रधान मन्त्री र पछि प्रचण्डको शक्तिमा २०७२ सालमा जुन गणतन्त्रमा उनको रुचि थिएन त्यहि गणतन्त्र नेपालको प्रमुख कार्यकारी प्रमुख प्रधानमन्त्री बने। २०७२ सालमा शुशिल कोइराला नेतृत्वको सरकारले जारी गरेको संविधानको विरोध भन्दै मधेश केन्द्रित दलको आन्दोलनको समर्थनमा भारतले गरेको नाकाबन्दीको खरो आलोचकको रुपमा आफूलाई चित्रित गरेर केपी ओलीले आफूलाई राष्ट्रवादी कित्तामा आफैंले उभ्याए र अरू दल र नेताहरुलाई भारत परस्त भनेर प्रचार गरे जसले केपी ओली जो गणतन्त्रको नाम सुन्दै तुक्का कटाक्ष गर्थे उनै गणतन्त्र नेपालको सर्वाधिक राष्ट्रवादी नेता कहलिए। २०७४ को पहिलो गणतान्त्रिक आमनिर्वाचनमा तत्कालीन माओवादी र एमाले मिलेर शक्तिशाली सरकार बनाउने मौका पाए र पछि पार्टी पनि एकीकृत गरे। यो पृष्ठभूमि यहाँ किन उल्लेख गरियो भने केपी ओली बाट नेपालको समृद्धि सम्भव छैन भन्ने तथ्य माथिको पृष्ठभूमि सँगै जोडिएर यहाँ सम्म आइपुगेको छ।
२०७२ सालमा शुशिल कोइराला नेतृत्वको सरकारले जारी गरेको संविधानको विरोध भन्दै मधेश केन्द्रित दलको आन्दोलनको समर्थनमा भारतले गरेको नाकाबन्दीको खरो आलोचकको रुपमा आफूलाई चित्रित गरेर केपी ओलीले आफूलाई राष्ट्रवादी कित्तामा आफैंले उभ्याए र अरू दल र नेताहरुलाई भारत परस्त भनेर प्रचार गरे जसले केपी ओली जो गणतन्त्रको नाम सुन्दै तुक्का कटाक्ष गर्थे उनै गणतन्त्र नेपालको सर्वाधिक राष्ट्रवादी नेता कहलिए।
केपी ओली को नेतृत्वबाट नेपालको समृद्धि सम्भव छैन भन्ने विषय बुँदागत रूपमा यसरी हेर्न सकिन्छ।
१. केपी ओलीलाई गणतन्त्र प्रति रुचि थिएन, गणतन्त्रको लागि योगदान त गरेनन् नै र गणतन्त्रको लागि संघर्षरत साथीहरूलाई समेत नकारात्मक उर्जा मिल्नेगरी कटाक्ष गरेर बसे। जो व्यक्ति यो व्यवस्थाको पक्षपाती नै थिएन उसैलाई यो व्यवस्थाको कार्यकारी प्रमुख बनाएर हामीले कसरी समृद्धिको सपना देख्यौं ?
२. चेस खेलको प्याधा अर्काको शक्तिमा राजालाई हमला गरेपछि आफैलाई सर्वशक्तिमान ठानेजस्तो आफ्नै धरातल बिर्सेर पार्टी, संगठन, सिद्धान्त लाई बाइपास गरेर आफ्ना आसपासको किचन क्याबिनेट बनाएर मनोमानी तरिकाले राज्यकोषको दुरुपयोग लाई रोक्नुको सट्टा संरक्षण गर्ने जस्तै ओम्नि प्रकरण, यति होल्डिङ प्रकरण, वाइड बडी जहाज प्रकरण, बालुवाटार जग्गा प्रकरण र लगानी बोर्डको कार्यकारी अधिकृत चयन प्रकरण, टेलिकम फोरजी उपकरण प्रकरण संरक्षण गर्ने, जनस्तर बाट आवाज उठ्दा समेत प्रधानमन्त्री आफैं उनीहरूको पक्षमा सार्वजनिक वक्तव्यबाजी गर्ने भए पछि उनको नेतृत्व समृद्धिको बाटोमा छ भनेर कसरी विश्वास गर्ने ?
३. यो व्यवस्था प्रति विश्वास नभएका केपी ओलीले यो व्यवस्था प्रति नै जनतामा वितृष्णा फैलाउने गरी आफ्नो स्वार्थको लागि राष्ट्रपतिलाई कहिले दल टुक्र्याउन विधेयक पास गराउने, कहिले आफ्ना सहकर्मीहरुलाई समेत थाहा नदिई एउटै बैठकमा बसेका प्रधानमन्त्री राष्ट्रपतिको मा गएर संसद अधिवेशन अन्त्य गर्न लगाउने जस्ता अस्वाभाविक गतिविधिमा राष्ट्रपतिलाई संग्लग्न गराई संस्था माथि नै बद्नाम गराउने प्रवृत्ति देखिएको ले गणतन्त्र नेपालको नेतृत्व केपी ओलीले गरेर समृद्धि आउने भन्नु उल्टो बाटो हिंड्नु सरह हो।
४. केपी ओली आफूले आफैंलाई सबै विषयको ज्ञाता ठान्छन्, राज्यले लिने महत्वपूर्ण निर्णयहरुमा विज्ञको सुझाव लिनुको सट्टा सुझाव दिन तमसन्छन् र परिणाम नकारात्मक हुने गरेको छ, जस्तै गुठी विधेयक, दल विभाजन सम्बन्धी विधेयक, संसद अधिवेशन अन्त्य, कोभिड(१९ नियन्त्रण आदि प्रकरणमा प्रधानमन्त्रीको विषेशज्ञ सुझावले उल्टो काम गरेको छ। यस्तो उल्टो गति लिने व्यक्तिको नेतृत्वमा समृद्धि कहिले आउँछ ?
५. पार्टीको लागि आफू होइन आफ्ना लागि पार्टी हो भन्ने ठान्दछन् जसले गर्दा पार्टीमा कुनै सल्लाह, विचार विमर्श गर्न जरुरी ठान्दैनन्, किचन क्याबिनेटका यसम्यान हरुको सल्लाहमा राजनीतिलाई नै बन्धक बनाएर राख्दछन् यस्तो व्यक्तिको नेतृत्वमा कस्तो समृद्धि आउँछ ?
६. राजनीतिज्ञले आफनो आलोचनाबाट शिक्षा लिएर जनताको अपेक्षा बुझ्ने हो तर केपी ओली आफ्नो आलोचना गर्नेलाई राजनीतिक रुपमा सिध्याउने नीति लिन्छन् र सार्वजनिक रुपमै सञ्चार माध्ययमा चेतावनी दिने शैलीमा प्रस्तुत हुन्छन् साथै आफ्ना दायाँबायाँ जो हो मा हो मिलाउँछन् उहीहरु सँग मात्र योजना बनाउँछन् । यो प्रवृत्ति बाट समृद्धि आउने कल्पना सम्म पनि गर्न सकिन्न।
७. जनता, सहकर्मी वा प्राविधिक विशेषज्ञ हरुले सुझाव सल्लाह दिंदा पनि काम परिस्थिति नबिग्रिदा सम्म आफ्नै ढिपी मा रहन्छन् , जब परिस्थिति बिग्रँदै जान्छ अनि आफैं नयाँ विषय वस्तुमा बहस मोड्छन र आफूलाई राष्ट्रवादी र अरूलाई राष्ट्रघाती वा विदेशीको इशारामा चलेको दलील गर्छन् र जनमत आफूसँग भएको देखाउन तमसिन्छन्। यो मनस्थितिले समृद्धि भेट्न सकिने कुरै हुन्न। जस्तै लिम्पियाधुरा कालापानी नक्सा प्रकरणमा पहिला सहकर्मी, प्रतिपक्षी र जनता बाट कालापानी लीम्पियाधुरा सम्मको नक्सा सार्वजनिक गर्न माग गर्दा नक्सा जाबो प्रेसमा छापे भैगोनि भन्ने अनि अन्तरवार्तामा मैले कहिल्यै लिम्पियाधुरा सम्मको भाग पढिन भन्ने अनि जब राजनीतिक रूपमा पदिय संकट आईलाग्यो अनि जनमत मोड्न नक्साको बिषय ल्याए। बिषय राम्रो हो तर आफनो कम्जोरी लुकाउन अरुलाई दोष दिने प्रवृति भएको मानिसले आजको युगको राज्यको नेतृत्व गर्नै सक्दैन।
८. राज्यसंग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील बिषयहरुमा कुनै प्रकृया, विधि र सिद्धान्त विना नै लहडमा आफ्ना सिमित कोठरीका मानिसको मिले महतो मा निर्णय लिन्छन् जसको धरातल अत्यन्त्यै कमजोर हुन्छ र देशले त्यसै व्ययभार बोकि रहेको छ जस्तै रेल विभाग, पानीजहाज कार्यलय मुस्लिम आयोग आदि। यस्तो नेतृत्वले समृद्धि ल्याउने कुरा आकाश फुकेर फुलाएँ भने जस्तै हो।
९. आफ्नो अकर्मण्यताले सिर्जित समस्याहरु अरु कसैको थाप्लोमा हाल्ने प्रयास गर्ने, पार्टीको सिद्धान्त नीति र चुनावी घोषणा पत्रमा उल्लेखित योजना र विधिबाट चल्नु पर्छ भन्ने मान्यता भन्दा आफ्नो मान्यता अनुसार पार्टी, यसका सदस्य र निर्णयहरु चल्नुपर्छ भन्ने मान्यता राखी आफू निर्विकल्प हुँ भन्ने अहंकारले समृद्धिको बाटो छेक्छ।
१०. यदि एकल निर्णयमा काम गर्थे भने चुनावी घोषणापत्र, पार्टीको नीति सिद्धान्त पनि उनले पार्टीलाई विश्वाशमा लिएर पार्टी विधानमा पारित गराएर जान सक्थे जसबाट प्रतिपक्षी र विश्व राजनीतिमा उनलाई हेर्ने दृष्टिकोण बन्थ्यो त्यो उनको क्षमता भन्दा बाहिरको भई हाल्यो। उनको आफ्नो नीति पनि नहुने र अरुको कुरा पनि नमान्ने व्यक्तिको नेतृत्वमा समृद्धि आउने सोचमा हामी रहनु भनेको नैराश्यता उत्पन्न हुनु मात्र हो र अहिले भएको स्थिति पनि यहि हो।
अतस् जनतामा अधिक नैराश्यता विकास भई यो व्यबस्था प्रति घृणा उत्पन्न हुनु भन्दा पहिले नै भौतिक रुपमा रोगी र मानसिक रुपमा विचलित केपि ओली लाई अवकाश दिनु समृद्धिको पहिलो शर्त हो।