बैतडी , १ भदौ ।
लगातार परेको वर्षाका कारण दशरथचन्द राजमार्गको बैतडीमा पर्ने सतबाँझ–मुस्याचौर सडकखण्ड भासिएको छ । सडकमा लगाइएको कालोपत्र चिरा परेपछि सडक भासीएको हो ।
राजमार्ग भासिदा ठूला सवारी साधन सञ्चालनमा समस्या हुने गरेको चालक मानबहादुर टेरले बताउनुभयो । भासिएको सडकमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।
सतबाँझ–मुस्याचौर सडकखण्ड करिब ५० मिटर जति सडक भासिएको हो । उक्त ठाउँमा गत वर्ष नै सडक छेउबाट भासिन शुरु गरेको थियो । भासिएको सडक मर्मतको काम पनि सँगसँगै थालिएको छ । लगातारको वर्षाले भने मर्मतमा समस्या आएको डिभिजन सडक कार्यलयले जनाएको छ ।
पाइप बगाउँदा खानेपानीको समस्या
बैतडीको पाटन नगरपालिका–३ मा पहिराले खानेपानीको पाइप बगाउँदा स्थानीयलाई खानेपानीको समस्या भएको छ । पाटन नगरपालिका वडा नं ३ को दम्मोरा टोलमा आउने खानेपानीको पाइप पहिराले बगाएको हो ।
झालीमाली मुहानबाट खानेपानी ल्याइएको भए पनि पाइप लाइनको बीच भागमा पहिरो जाँदा करिब १०० मिटर पाइप बगाएको स्थानीय दीपेन्द्र पन्तले जानकारी दिनुभयो । गए राति खसेको पहिराले खानेपानीको पाइप बगाएको हो ।
गाउँमा आउने खानेपानी अवरुद्ध भएपछि खोलाको दूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता परेको पन्तको भनाइ रहेको छ ।
पहिराले खानेपानीको पाइप बगाएसँगै सो ठाउँका १० घर परिवार खानेपानीबाट वञ्चित भएका छन् ।