काठमाडौँ, ३२ साउन । वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षको उमेरमा आज निधन भएको छ ।
नेशनल हस्पिटल कलङ्कीमा उपचारको क्रममा उहाँको आज १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो । उच्चकोटिको पौभाः लेखनमा सिद्धहस्त चित्रकार नेपाल भाषाका गीतकार पनि हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरी र एक छोरो हुनुहुन्छ ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । यसैबीच प्रतिष्ठान आज एक शोक वक्तव्य जारी गरी उहाँका निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उहाँप्रति श्रद्घाञ्जली अर्पण गरेको छ ।
वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् समवेदना प्रकट गरिएको छ । उहाँको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उहाँले धेरै कलाकारहरु उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।