साउन २९ काठमाण्डौं । १५ किलो नक्कली सुन प्रकरणमा फरार बाराका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अन्सारीलाई पक्राउ गरेको हो ।
सुन प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको गाडी अन्सारीको रहेको अनुसन्धानबाट खुलेको छ।
सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो। सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर अन्सारी भागेका थिए।
सुन प्रकरणमा प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिक सहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरीरहेको छ ।
गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको प्रहरीको अनुमान छ।
उनीहरु यो नक्कली सुन भारतमा लगेर बेच्ने तयारीमा रहेको बताईएको छ ।