साउन २३ दमौली । साविक जामुने गाविसको गुणादी दभुङ घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो ।
लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आएका छन् । केही समय पोखरामा डायलासिस गराउनुभएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहेका छन् ।
घरको मूल व्यक्ति नै मिर्गौलाको रोगी भएपछि श्रेष्ठ परिवारमा एक प्रकारको पीडा थियो । उपचारका लागि आर्थिक अभाव भएपछि श्रेष्ठ परिवारले सहयोगका लागि अपिल गरिरहेको थियो तर श्रेष्ठ परिवारमाथि अर्को ठूलो बज्रपात आइपरेको छ । रामलालका छोरा ३० वर्षीय सुवास श्रेष्ठको गत साउन २१ गते व्यास नगरपालिका–१ भादगाउँमा करेन्ट लागेर ज्यान गएको छ । वल्र्डलिङ्कमा विगत एक वर्षदेखि कार्यरत श्रेष्ठले कामकै शिलशिलामा करेन्ट लागेर ज्यान गुमाए ।
मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएको स्थानीय सञ्चारकर्मी विवि श्रेष्ठ बताउछन् ।
“श्रेष्ठको उपचारका लागि केही सहयोग गर्न सकिन्छ भनेर रकम सङ्कलन गर्न अभियान सञ्चालन गर्न लागेका थियौँ”, तर एक्कासि एकदमै दुःखद् घटना घट्यो ।” उनले भने । रामलालका श्रीमती यशोदालाई श्रीमानको दुवै मिर्गौला फेल भएपछि पीडा त छँदै थियो छोराको निधनले थप पीडा दिएको छ ।