काठमाडौँ साउन २२ । सरकारको कमजोर तयारी, नागरिक स्तरमा देखिएका लापरबाही , द्रुत परिक्षण नहुनु र ढिलो नतिजा आउनु , उपचारका लागि अस्पताल र आईसोलेसनमा भेन्टिलेटर र आईसियुको समेत अभाव देखा परीरहेका बेला कोरोनाले मृत्यु दर बढ्दै गएको छ ।
पहिलो पटक कोरोनाले एकै दिन नेपालमा ६ जनाको ज्यान लिएको छ । कोरोना संक्रमणबाट मोरङमा दुई, पर्सामा दुई, सप्तरीमा एक र काठमाण्डौंमा एक गरी एकै दिन यति धेरै मानिसको मृत्यु भएको हो ।
काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा उपचाररत सर्लाही मलंगवा–६ की ६५ वर्षीयाको बुधबार मृत्यु भएको छ । उनलाई साउन १८ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै बीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । एक १८ वर्षे युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टी भएको छ । लगातार वान्ता र पखाला भए पछि अस्पताल लैजादै गर्दा मृत्यु भएकी ती युतवीको स्वाब संकलन गरेर परिक्षण गर्दा बुधबार पोजेटिभ देखिएको थियो ।
त्यस्तै अर्का एक पुरुषको वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेहका बिरामी थिए । अस्पतालमा उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।
यस्तै मोरङ विराटनगर स्थित कोशी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका दुई पुरुषको एकै दिन ज्यान गएको छ ।
विराटनगर महानगरपालिका ९ र रंगेली नगरपालिका ८ का ४५–४५ वर्षीय पुरुषको मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले बताए ।
यस्तै सप्तरीको रुपनी गाउँपालिका–५ गढियामा हिजो होम क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको छ । उनी डेढ महिनाअघि मलेसियाबाट घर फर्किएका थिए । कोरोना संक्रमणको आशंकामा जिल्ला स्वास्थ्य कार्यालयले उनको शवको अन्तिम संस्कार गर्न रोक लगाएर बुधबार स्वाब संकलन गरेको थियो । राजविराजस्थित गजेन्द्र नारयणसिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा ती व्यक्तिमा कोभिड १९ पुष्टि भएको अस्पततालका प्रमुख डा. रञ्जित झाले बताए ।
यसले नेपालमा कोरोनाले निरन्तर मृत्यु दर बढाउने चिन्ता बढ्न थालेको छ ।