उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न छलफल

उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न छलफल

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडाैं, २१ साउन । कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा मङ्गलबार भएको बैठकले साँगा नाकालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

“साँगा नाकामा देखिने भीडभाड सहजरूपमा व्यवस्थापन गर्ने विषयमा छलफल गर्यौँ”, उहाँले भन्नुभयो, “सवारी साधन जाँचका क्रममा हुने गरेको भीडका कारण साँगा क्षेत्रका नागरिकलाई जोखिमबाट कसरी मुक्त गर्ने भन्ने विषयमा गहन छलफल भएको छ ।” बैठकमा साँगामा भएको सुरक्षा जाँचको विषयमा जानकारी गराइएको थियो ।

विषेशगरी तराई जिल्लाबाट आएका सवारीसाधन उपत्यका प्रवेश नाका साँगामा कडाइ गर्दा स्थानीय बासिन्दा जोखिममा रहेको भन्दै त्यहाँका बासिन्दाले दुवै जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसका लागि काभ्रेपलाञ्चोक जिल्लाको सीमा नाका बिपी राजमार्ग भएर सिन्धुलीबाट आउने सवारी साधनलाई काभ्रेपलाञ्चोकको मङ्गलटारमै रोकिने र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकबाट आउने सवारी साधनलाई दोलालघाटमै रोकेर जाँचपास गरी आवश्यकताका आधारमा मात्रै प्रवेश गराउने विषयमा निर्णय भएको जनाइएको छ । बैठकमा बिनापास अन्तर जिल्ला आएका सवारी साधनलाई ती ठाउँमै रोकेर राख्ने कुरालाई अझ कडाइ गर्ने निर्णय भएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो ।

पास लिएर आएकाहरुले पनि तोकिएको सङ्ख्याभन्दा बढी ल्याउने गरेको पाइएका कारण त्यसलाई समेत कडाइ गर्ने उहाँले बताउनुभयो । सो क्रममा उपत्यका केन्द्रित भएर व्यवसाय गर्ने कर्मचारी, विद्यार्थीका लागि सहज बनाउने विषयमा दुवै जिल्लाबीच सहमति गरेर खुकुलो गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

सो क्रममा मास्कको प्रयोगबिना बाहिर निस्केको पाइएमा सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्नका लागि पहिलोपटक सचेतनासँगै मास्क नलगाई हिँड्नेलाई मास्क बाँड्ने काम गरिएको उहाँले बताउनुभयो । उहाँ नेतृत्वको टोलीले साँगा र बनेपा चारदोबाटोमा सडकमा हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ