फुलवरीया

फुलवरीया

  • बुधबार, साउन २१, २०७७
  • प्रथा

  • 13.1K
    SHARES

यो जिन्दगीको जङ्गलमा
कसले चलाउँदैछ
सनकी शासकजस्तै विषालु आरा
र रित्तिरहेछन् – विश्वासका कदम गाछीहरू ?

जीवनको अँध्यारो साँझमा
जुनकीरीले,
बाटो देखाइदिएको पटेरघारी
खै कसले हो – डढेलो सल्काइदिएछ ?
र बादलको रुमाल ओछ्याएर
जूनताराहरूको,
गट्टी खेलेको त्यो सिमली शयल
यतिखेर,
खोई कहाँ हराएछ – फुलवरीया ?

भुइँस्यालफुस्रोका दानाहरूसँग
अञ्जान–अञ्जानमै,
एक अङ्गालो भरोसा साटेको
त्यो गोठाले वन पनि
खै कसले होला – झोडा फाँडिसकेछ ?
भन न ए फुलवरीया !
थाहै नपाई हलक्क अग्लिएको
यो उमेरको पहाडमा
किन उकाली नभएर ओराली मात्र हुन्छ ?

अहो ! वनचरीलेझैँ पिरती खोपेको
त्यो डुम्रीको रूख
सिरानघरे आमैजस्तै फुलेछ !
तिमीलाई बाटो ढुकिरहने
जँड्याहा बोक्सीकाँडाको त्यो झाल
थरथरे लागेर
हिँड्नै नसकने पो भएछ !
डालेघाँस काटेर
चोप पखालेको जरुवा पनि
कुनै बिरानो ठाउँमा बसाइँ सरिसकेछ !

ए फुलवरीया !
कसले हालिदियो होला
यो उमेरको नदीलाई नरोकिने गति
र वर्षौँदेखि भागिरहेछ
खुशीहरू बगाउँदै दूर देशको समुद्रतर्फ !
तिमी जूनले नुहाइरहँदा
पातलो छायाको पर्दा पन्छाएर
मैले चियाउने गरेको बकाइनाको रूख
सायद,
ऊः त्यही ठाउँमा थियो – फुलवरीया !

आफ्नै रहरका आँटीभरि
हलगोरु नारेर
मैले सपनाको खलेगह्रो हिल्याएपछि
जीवनका गीतहरू
तिमीले छुपुछुपु रोपाइँ गरिदिएको
त्यो भरोसाको आँटी
ऊः त्यही सीमखेत हो – फुलवरीया !
हेर न ए फुलवरीया !
किन अनौंठो लाग्छ यो ठाउँ
हामी बदलियौं कि बस्ती बदलिएछ ?

फोक्लैण्डको निर्जन पठारबाट
रुँदै आएको यो बतासले
कसरी पखाल्यो होला
पल्टने काकीको जीवनको रङ ?
भन न ए फुलवरीया !
आकाशजस्तै आमाको मन
वर्षौँदेखि बगिरहेको वक्राहा नदीमा
आजभोलि,
किनारा भिजाउँदै पानी बग्छ कि आँसु ?

फुलवरीया ! ए फुलवरीया !
आज बीस वर्षपछि
म त्यही पथलकट्टामा उभिएर
यतिखेर नियालिरहेछु
यो जिन्दगीको एक्लो सिमसार
जहाँ साँझबत्ती सल्काएर
अहिले पनि कुरिरहेछन्
सम्झनाका अनगिन्ती बाडुल्कीहरू !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी