काठमाठौँ , १६ साउन ।
आन्तरिक मूल्यांकनका आधारमा प्रकाशन हुने एसईईको नतिजा यही साता भित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा बोर्डले साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने भनी जनाएको थियो ,तर कोरोना भाइरस संक्रमण र अविरल वर्षाले निम्त्याएको बाढीपहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढिलाइ भएका बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जनाए अनुसार ७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको छ।
‘विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको छ,’ ‘अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्छौं ’ परीक्षा नियन्त्रक खकुरेलले जानकारी दिनुभयो ।
खकुरेलका अनुसार केही जिल्लाको मात्रै रिजल्ट तयार पार्ने काम बाँकी रहेको र प्राविधिक कठिनाइ नआए २/३ दिनमै नतिजा प्रकाशित गर्न सकिने उहाँले बताउनुभयो । ‘सकेसम्म बुधबार (साउन २१) भित्र गर्ने लक्ष्य राखेका छौं ’ खकुरेलले जनाउनुभयो ।
यस पटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ ।
विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार प्रधानाध्यापक अध्यक्ष रहेको परीक्षा समितिले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीले प्राप्त गरेको अंक सिफारिस गर्नेछ । विद्यालयले सिफारिस गरेको अंक इकाइले प्रमाणित गरी बोर्डमा पठाइसकेका छन् । सोही अंकका आधारमा ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन हुनेछ । नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रिपरिषद्ले कोरोना संक्रमणका कारण परीक्षा सञ्चालन गर्न असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय गरेको थियो । एसईई चैत ६ बाट सुरु हुने तालिका थियो । कोरोना महामारीका कारण सरकारले चैत ५ गते राति एसईई स्थगित गर्ने निर्णय गर्यो ।
कोरोना महामारी बढ्दै गएको र परीक्षा सञ्चालन गर्न असम्भव भएपछी सरकारले जेठ २८ गते परीक्षा नै रद्द गर्ने निर्णय गरेको थियो ।