साउन १६ बीरगञ्ज । बीरगञ्जमा निरन्तर कोरोना संक्रमित बढ्ने र मृत्यु हुने क्रम बढे पछि जोखिम उच्च बन्दै गएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गएराति भएको परीक्षणमा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतलामा डायलसिस गराउने ३ जना मृगौला विरामीमा पनि कोरोना पोजिटिभ देखिएको छ । नारायणी अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार यहाँको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा १२ महिलासहित ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
कन्टयाक्ट ट्रेसिङमा दुईजना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको हो । संक्रमित स्वास्थ्यकर्मी नारायणी अस्पतालको आइसियु, मेडिकल र ओपडी विभागका हुन् । एडभान्स मेडिकेयर र अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत संक्रमण देखिएको छ ।
यसैगरी वीरगन्जको दुईवटा औषधि उद्योगका ४ जना कर्मचारीमा संक्रमण देखिएको छ ।
कोरोनाको जोखिम बढे पछि बीरगञ्जमा निषेधाज्ञा जारी रहेको छ ।