काठमाडौँ , १५ साउन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० को आज बसेको निर्देशक समितिको बैठकले कोरोना संक्रमणको उच्च जोखिम भएको ठाउँमा ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
आवश्यकताअनुसार संक्रमण देखिएको ठाउँ सिल गर्ने र पीसीआर परीक्षणको दायरा बढाउने मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।
आउँदो भदौ १ गतेबाट सञ्चालनका लागि लयारी अवस्थामा रहेका विभीन्न क्षेत्रलाई आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड र प्रोटोकल तयार पार्न सम्बन्धित निकायहरुलाई आजको बैठकले जिम्मेवारी दिएको छ ।
पछिल्लो समय उपत्यका प्रवेश गर्नेहरुको पीसीआर परीक्षण गरिरहेको सरकारले अब प्रवेशविन्दुमा नै ‘क्वारेन्टिन’ व्यवस्थापन गर्ने भएको छ ।
काठमाडौं प्रवेश गर्ने नाकामा गरिएको परीक्षणमा संक्रमण देखिन थालेपनि प्रवेशनाकामै क्वारेन्टिनको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्णरुपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको आज बसेको सीसीएमसी को निर्देशक समिति बैठकले निष्कर्ष निकालेको हो ।
बैठकले लकडाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ ।