स्याङ्जा , १३ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक प्रहरी दम्पतीसँगै उनीहरूको २८ महिने छोरामा पनि संक्रमण देखिएको स्रोतले जनाएको छ ।
सुरुमा साउन ६ मा ३ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । गत सोमबार जिल्ला प्रहरी प्रमुखसहित १८ जनामा संक्रमण पाइएको थियो भने आज थप १६मा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका अनुसार मंगलबार जिल्लाका १ सय १९ जनाको रिपोर्ट आउँदा २५ जनामा संक्रमण देखिएको छ । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए । प्रहरी कार्यालयमा ३७ प्रहरी, एक शिशु र एक जना थुनुवामा पनि कोरोना पुष्टि भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
जिल्लाको प्रहरी ब्यारेकका सबै कर्मचारीलाई एकैपटक ज्वरो आउने र रुघा लाग्ने भएपछि ९८ प्रहरी कर्मचारी र हिरासतमा रहेका ४ सहित १ सय २ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियो ।
पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा संक्रमणको दर बढीरहेको छ ।