साउन १२ काठमाण्डौं । कोरोना संक्रमण निरन्तर बढीरहेको पर्सामा आज थप ६ जना स्वास्थ्यकर्मी सहित १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगञ्ज–१० आदर्शनगर पुरानो बसपार्कका मृतक ६५ वर्षीय वृद्धसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएको थियो ।
वीरगञ्ज– ६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन ८ गते ज्यान गुमाएका ७० वर्षीय वृद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहको सोही दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
त्यसैगरि गण्डक अस्पतालका ३४ वर्षीय कर्मचारी र नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी र वीरगञ्ज–१६ मिथिला नगर घर भई एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पेड पीसीआर गराएका वीरगञ्ज–१४ का ३० वर्षीय, वीरगञ्ज–१४ बहुअरी गण्डकका ३२ वर्षीय, वीरगञ्ज–११ श्रीपुरका ४५ वर्षीय, वीरगञ्ज–२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यसअघि पेड पीसीआर गराएका वीरगञ्ज–६ रेशमकोठीका ३२ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले उनको रिपोर्ट पनि आइतबार मात्रै सार्वजनिक गरेको छ ।
पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा पाँच जना स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २३ र २८ वर्षीया दुई जना महिला स्वास्थ्यकर्मी तथा ३७, ४२ र ४५ वर्षीय ३ जना पुरूष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल ल्याब स्रोतले जनाएको छ ।