विराटनगर, साउन ९ । कोरोना भाईरस (कोभिड–१९) को जोखिमका कारण प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीलाई क्वारेन्टीनमा परिणत गरिएको छ ।
प्रहरी नायव महानिरीक्षक –डिआईजी) कार्यालयमा बाहिर र भित्रको आउजाउ बन्द गरिएको प्रहरी उपरीक्षक दिपक पोखरेल एवं प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दिपक पोखरेलले बताउनु भयो । उहाँका अनुसार सबैलाई क्वारेन्टीनमा आईसोलेशन गरिएको हो ।
प्रहरी कार्यालय परिसरको दैनिक कामकाज अनलाइन प्रणालीबाट मात्रै हुनेछ, प्रवक्ता पोखरेलले भन्नुभयो–भित्रका भित्रै र बाहिरका बाहिरै अवस्थामा बसेका छौं । प्रदेश प्रहरी कार्यालय परिसरमा कुनैपनि नागरिकलाई प्रवेश दिइएको छैन भने कोठा भाडामा बस्दै आएका प्रहरीलाई समेत कोठामै सिमित रहन निर्देशन दिइएको छ ।
प्रदेश १ प्रहरी कार्यालयमा १६० जनाको दरबन्दी रहेको छ । कार्यालयमा कार्यरत १४३ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ । परीक्षण रिपोर्ट आएको छैन, प्रवक्ता पोखरेलले भन्नुभयो–घोषित रुपमा सिल गरिएको हैन तर अघोषित रुपमा कार्यालयका कुनैपनि गतिविधिका लागि आउजाउ रोकिएको छ ।
प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत एकजनालाई बुधबार र चार जनालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्क पहिचानका आधारमा लिइएको स्वाबको नतिजा आईसकेको छैन तर कोरोना संक्रमणको लक्षण देखिने रुँघा तथा खोकीले धेरैलाई सताईसकेको छ ।
कार्यालय भित्रका संरचनामा आपत्कालिन कार्य सञ्चालन सुविधाका लागि ४–५ जनाको दरले जिम्मेवारी छुट्याएर कार्यालय समेत अलग्याईको छ ।