साउन ८ काठमाडौँ । मेलम्ची आयोजनाको सुरुङको ढोका डिजाइन र जडान गर्ने भारतीय ठेकेदार कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले कमजोर संरचना बनाएका कारण बाँध फुटेर एक जना ईन्जिनियर र चालक बेपत्ता भएको घटना पछि सो कम्पनीमाथि छानविन शुरु भएको छ । ईन्जिनियर मृत फेला परेका थिए भने चालक अझै भेटिएका छैनन् ।
सो भारतीय कम्पनीका निर्देशकलाई काठमाण्डौ आउन मेलम्ची आयोजनामा भएको सो दुर्घटना पछि मन्त्रालयद्धारा गठित छानविन समितिले पत्राचार गरे पछि भारतीइ ठेकेदार काठमाण्डौ आईपुगेका छन् ।
परीक्षणका लागि पानी पठाएको १० दिनमा सुरुङको ढोका भत्केर भौतिक तथा मानवीय क्षति भएको थियो । ढोकाको डिजाइन, निर्माण र जडानसमेतको जिम्मेवारी लिएका कम्पनीका निर्देशक नलिन भिभाकर काठमाण्डौं आइपुगेका छन् ।
आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीलाई भेटेर भिभाकर आयोजना स्थल मेलम्ची पुगेका छन् ।
समितिका संयोजक तथा सहसचिव रमाकान्त दुवाडीका अनुसार ढोका बनाउने ठेकेदार कम्पनी र परामर्शदाता स्पेनको इप्टिसाले सुरुङमा पानी पठाउनुअघि आयोजनासँग गरेको सम्झौताअनुसारको प्राविधिक प्रक्रिया र जिम्मेवारी पूरा गरेरनगरेको विषयमा अध्ययन भइरहेको समितिले जनाएको छ । आयोजनाले परामर्शदाताकै विश्वासमा प्राविधिक काममा सहमति जनाउँदै आएको छ । कार्यकारी निर्देशक खत्रीका अनुसार परीक्षण गर्दागर्दै ढोका भत्केर प्रश्न खडा भएपछि परामर्शदाताका रूपमा काम गरिरहेको कम्पनी इप्टिसाका प्रमुख प्रतिनिधिलाई उपस्थित भएर घटनाको अध्ययन गर्न र ढोका खुल्नुको कारण पत्ता लगाउन पत्राचार गरिएको छ ।
यद्यपि त्यसको लिखित ‘रेस्पोन्स’ आएको छैन । सुरुङ परीक्षण हुने समयमा इप्टिसाका मुख्य जिम्मेवार प्रतिनिधि थिएनन् । परामर्शदाताको कर्मचारीको भरमा परीक्षण अनुमति दिएको आयोजनाका प्राविधिक बताउँछन् ।
सो कन्सलटेन्टले अझै पत्रको जवाफ दिएको छैन ।
सुरुङमा परीक्षणका लागि पानी पठाएको १० दिनपछि असार ३० मा सुरुङभित्रको ढोका भत्केर एक इन्जिनियरको मृत्यु भएको थियो भने एक जना अझै फेला परेका छैनन् ।
डिजाइन क्षमताभन्दा कम परिमाणमा पानी पठाउँदा सुरुङको ढोकाको ३२ वटा नटबोल्ट खुस्केपछि आयोजनाका अन्य संरचनाको गुणस्तरको पनि जाँच गर्नुपर्ने धारणा प्राविधिकहरूको छ ।
आयोजनाका अनुसार पानीको उचाइ ५० मिटर थेग्ने गरी डिजाइन गरिएको भनिएको ढोकाको नटबोल्ट १६ मिटर पानीको प्रेसरमै खुस्किएपछि सुरुङको समग्र गुणस्तरमाथि प्रश्न उठेको छ । यसबाट चार वटा अडिट र सुरुङको विभिन्न भागमा रहेका ३८ वटा ढोका प्रेसिजन इन्फ्राटेक लिमिटेडले नै डिजाइन, निर्माण र जडान गरेको हो ।
प्राविधिक समितिका विशेषज्ञहरूले आयोजनासँग गरिएको लिखित सम्झौताअनुसार प्रक्रिया पुगेरनपुगेको अध्ययन गरिरहेका छन् । छानबिन समितिमा स्वतन्त्र विशेषज्ञसहित ६ जना छन् । कार्यकारी निर्देशक खत्रीले बुधबार आयोजनाको सुरुङ र हेलम्बु मुहान निरीक्षण गरेर घटनाको थप जानकारी लिएको बताए ।
आयोजनाका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार हाइड्रो मेकानिकलको सबै जिम्मेवारी इन्फ्राटेकलाई दिइएको थियो । सुरुङ निर्माण गर्दागर्दै एकलौटी रूपमा सम्झौता तोडेर जाने इटालियन कम्पनी सीएमसीले नै सब–कन्ट्र्याक्टरका रूपमा इन्फ्राटेकलाई ल्याएको हो । इप्टिसा र ठेकेदारका प्रतिनिधि आएपछि धेरै विषयमा जानकारी हुने पन्तले बताए ।
झण्डै २० बर्ष अघि शुरु भएको यो आयोजना लामो विवाद, भ्रष्टाचारको मामलासगैँ २९ अर्ब रुपैया सकिए पछि सुरुगं बनिसकेको थियो । सुरुग बनेर पानी छोड्ना साथ भत्किएर मान्छेको ज्यानै गए पछि यस आयोजनामाथि थप प्रश्न उठेको छ ।