काठमाडौँ , ७ साउन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज विभिन्न हवाई सेवा प्रदायक कम्पनीका जहाजहरुले एकैदिन १६ वटा आन्तरिक उडान भरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए ।
आज यती एयरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौँ ल्याएको छ भने सीता एयरले सुर्खेतमा १६ यात्रु लगेको छ । सिम्रिक एयर, कैलाश एयर, मनाङ एयर, एयर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले गत चैत ११ बाट देशभर लागू गरेको बन्दाबन्दी मङ्गलबार रातिदेखि पूर्णरुपमा हटाउने निर्णय गरेको थियो । आन्तरिक तथा अन्तरराष्ट्रिय उडान पनि साउन ६ गतेसम्म प्रतिबन्ध गरिएको थियो । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
आजदेखि बन्दाबन्दी खुले पनि अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएनन् । दुई दिन उडान स्थगन गरेर शुक्रबारदेखि पुनःअन्तरराष्ट्रिय चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।
विमानस्थल स्रोतका अनुसार आज जम्मा चार अन्तरराष्ट्रिय उडान भएका छन् । जसमध्य नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट २६४ यात्रु ल्याएको छ भने हिमालय एयरलाइन्सले सोही गन्तब्यबाट दुई उडान गरि क्रमशः १४८ र १४५ यात्रु काठमाडौँ ल्याएको छ । रोयल एयरफोर्सले दुबईबाट १३ यात्रु नेपाल ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार भने अन्तरराष्ट्रिय तर्फ एकमात्र उडान हुने जनाइएको छ , जसमा शिल्क एयरले सिङ्गापुरबाट यात्रु ल्याउने विमानस्थल स्रोतले जनाएको छ ।