राजविराज , ७ साउन । राजविराज नगर क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमितहरु बढिरहेको भन्दै जिल्ला सुरक्षा समितिले बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधित अर्को आदेश नआउञ्जेलसम्म राजविराज नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।
समितिको आज बसेको बैठकले राजविराज नगरपालिकामा समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रभरि सो आदेश जारी गर्ने निर्णय भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने उहाँले जानकारी दिनुभयो । करिब पाँच दिन अगाडि राजविराजकै वडा नं ६ निवासी ७३ वर्षीय एक प्रतिष्ठित व्यापारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । मृतकको सम्पर्कमा आएका उनको परिवारका पाँचै जनासहित अन्य मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक प्रसाईंले भन्नुभयो ।
सो बैठकपछि नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्ण लकडाउन अवधिमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, पसल, उद्योग, यातायात बन्द गर्ने निर्णय भएको उल्लेख छ ।
स्वास्थ्यसँग सम्बन्धित तथा अन्य अतिआवश्यक सेवा भने सञ्चालन रहने विज्ञप्तिमा जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराजमा कोरोना सङ्क्रमण समुदायमा फैलिएको पुष्टि भएको जनाएको छ ।
आजमात्रै राजविराजका १३ जनासहित १४ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये दुई जना भिन्नाभीन्नैअस्पतालको कर्मचारी रहेको बताउनु भयो ।