लमजुङ साउन ७ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा भीषण पहिरो जाँखा १८ वटा घर पुरिए पनि गाँउलेले पहिरो आउन सक्ने अनुमान गरी घर छाडेकाले कुनै मानवीय क्षति भने भएन ।
यद्यपि, पहिरोबाट जोगिन भाग्ने क्रममा चार जना घाईते भएका छन् । सो गाँउका अन्य घरहरुमा समेत पहिरोले क्षति पुर्याएको प्रहरीले बताएको छ ।
हिजो नजिकै पहिरो गएकाले त्रासले गाँउलेहरु नजिकैको बिद्यालयमा बसेका थिए ।
अहिले गाँउलेहरु जुटेर पुरिएका घरहरुबाट सामान निकाल्ने प्रयास गरीरहेका छन् ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिरो गएको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाईएको बताएका छन् ।
देशभर परेको अविरल वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति पुर्याईरहेको छ । बर्षा अझै केही दिन पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।