वीरगन्ज , ६ साउन ।
तीन दिनदेखि लगातार परि रहेको अविरल वर्षाको कारण पर्साको विभिन्न स्थानहरु डुबानमा परेको छ । पर्साको १४ वटा स्थानीय तहहरुमध्ये अधिकाँश स्थानीय तहहरु डुबानमा परेको छ ।
जिल्ला सदरमुकाम रहेको वीरगन्ज महानगरपालिका सहित जिल्लाको ग्रामीण भेग डुबानमा परेको छ । जिल्लाको ग्रामीण भेगमा रहेको आधा दर्जन भन्दा बढि नदीहरुमा पानीको बहाव बढेपछि गाउँ वस्तीहरु डुबानमा परेको हो । वीरगन्ज महानगरपालिकामा उचित पानीको निकाश नहुँदा महानगर डुबानमा परेको हो । 
वीरगन्जको मुख्य चोक आदर्शनगर, रानीघाट, श्रीपुर, नगवा लगायतका स्थानहरुको मुख्य सडकमा घुँडाभन्दा माथिसम्म पानीको सतह रहेको स्थानीय दिपक चौरासीयाले र्मिमिरे अनलाइनलाइ बताएका हुन् । आदर्शनगर क्षेत्रमा रहेका पसलहरु भित्र पानी प्रवेश गरेर व्यापारीहरुको सामान नष्ट गरेको छ भने जिल्लाको प्रशासनीक निकाय जिल्ला प्रशासन कार्यालय पर्सा पनि डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालयको हाताभित्र घुँडाभन्दा माथिसम्म पानी जमेको छ । कार्यालय छेउमै रहेको सानो कुलोबाट बग्ने पानीको बहाव बढेपछि पानी पास हुन नसकेको कारण महानगरपालिकाको विभिन्न स्थानहरु डुबानमा परेको हो । 
ढलको उचित निकास नभएको कारण सधैं वर्षा याममा वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रहरु डुबानमा पर्ने गरेको छ । नालाहरु सरसफाई गरिएको छैन । पानीको बहावले फोहरहरुलाई ढलको मुखमा र्पुयाएर ढलको मुख थुने पछि पानीको बहावमा रोक लागेसँगै नगर जलमग्न भएको हो । ढल तथा नालाहरुको मुख फोहोरहरुले पुरिएपछि पानी निष्कासनको क्रममा सडकमा पानी जमेको र सडक छेउमा रहेको घरहरुमा समेत पानी पसेको छ ।
यतातिर पर्साको ग्रामीण क्षेत्रमा रहेको तिलावे नदी, भुलवाही खोला, ओरिया खोला, भेदहा नदी लगायतका नदीहरुमा पानीको बहाव बढेसँगै नदी छेउका बस्तीहरुमा बाढी प्रवेश गरेको छ । जिल्लाको १ वटा महानगरपालिका बाहेक अन्य १३ वटा स्थानीयहरु ग्रामीण क्षेत्रमा र्पछ । पोखरीया नगरपालिका, बहुदरमाई नगरपालिका तथा पर्सागढी नगरपालिकामा पर्ने गाउँवस्तीहरु पनि डुबानमा परेका छन् भने ओरिया खोलामा आएको बाढीले गर्दा जगरनागपुर गाउँपालिकाका विभिन्न गाउँहरु डुबानमा परेका छन् ।
वीरगन्ज महानगरपालिकाको पश्चिम पट्टिको बस्ती छेउ हुँदै गएको सिर्सिया नदीमा पानीको बहाव बढेसँगै छेउछाउका बस्ती प्रभावित भएको छ । रानीघाट, श्रीपुर, राधेमाई तथा रामगढवा टोलमा सिर्सिया नदीको पानीले ताण्डव मच्चाएको छ । घर घरमा पानी प्रवेश गरि सकेको छ । तीन दिनदेखि नै बर्षाको गति बढ्दो अवस्थामा छ । वीरगन्जको आदर्शनगर, रानीघाट, भिस्वा, श्रीपुर, मुर्ली, राधेमाई लगायत नगरको अधिकाँश भुभाग डुबानमा परेको छ भने ग्रामीण क्षेत्र पनि डुबानमा परेको छ । लगातारको वर्षाले गर्दा कुलो, नहरहरु भत्किएर अर्थात कुलो, नहर, खोलाको माथिसम्म पानीको सतह पुगी बस्तीहरुमा पानी प्रवेश गरेको कारण ग्रामीण भेगका जनताहरुको जनजीवन प्रभावित बनेको हो । वर्षाले गदा केही वस्तीहरु डुबानको उच्च जोखिममा रहेका छन् ।