वीपी सङ्कीर्ण, पुष्पलाल परिपक्व र उदात्त

वीपी सङ्कीर्ण, पुष्पलाल परिपक्व र उदात्त

  • मङ्लबार, साउन ६, २०७७
  • – खेम थपलिया

  • 16.1K
    SHARES

नेपालमा हरेक वर्षको साउनको पहिलो हप्ता वीपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति–सन्दर्भमा विशेष चर्चा–परिचर्चा हुने गर्दछ । समकालीन विश्व राजनीतिमा समाजवादी शिविर र पुँजीवादी शिविर गरी दुई शिविर अस्तित्वशील छन् । नेपाली राजनीतिमा पनि कुरा उही हो हो । नेपाली राजनीतिको ऐतिहासिक कडीलाई जोडेर हेर्दा पुँजीवादी शिविरको राजनीतिक सम्बन्ध रूपमा नेपाली काङ्ग्रेस र त्यसका संस्थापक नेता वीपी कोेइरालासित अन्तर्सम्बन्धित छ भने सच्चा क्रान्तिकारी कम्युनिस्ट अर्थात् समाजवादी शिविरको नेपाल कम्युनिस्ट पार्टी र यसका संस्थापक महासचिवका रूपमा पुष्पलाल श्रेष्ठसित सम्बन्धित छन् । नेपाली राजनीतिको ऐतिहासिक कडीलाई वर्तमानमा ल्याउँदा पुँजीवादी शिविरको नेतृत्व नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहनुभएको छ भने समाजवादी शिविरको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गरिरहनुभएको छ । नेपालका अन्य राजनीतिक दल सापेक्षित रूपमा यी दुई शक्तिवरिपरिका रुझान मात्र हुन् ।

जनयुद्धमा माओवादीले आधार इलाका निर्माण गरे जस्तै ओखलढुङ्गालाई वीपी कोइरालाले सङ्घर्षको आधार इलाका बनाउनुभएको थियो । वीपी कोइरालाले आफ्नो आत्मकथामा लेख्नुभएको छ, “मभन्दा अघि प्रधानमन्त्रीले भारतीय राजदूतकहाँ जान्थे तर मैले राजदूतलाई सिंहदरबारमा बोलाएँ ।” यसमा उहाँको कूटनीतिक भूमिका रहेको मान्न सकिन्छ । कतिपय सवालमा वीपीको राजनीतिक–कूटनीतिक सफलता पनि मानिएको छ । राजनीतिक ढाँचाबारे वीपी भन्नुहुन्थ्यो, “हामीले सोचेको ढाँचा राजालाई संवैधानिक प्रमुख राख्ने ढाँचा थियो । त्यो संसदीय प्रजातन्त्रको ढाँचा हुने थियो । त्यसमा बहुदलीय प्रणाली, बहुलवादी समाज र कानुनको राज्य हुने थियो । हामीले उदारवादी प्रजातन्त्रको अवधारणा राखेका थियौँ”, (वीपीका प्रकाशित अन्तर्वार्ता) । कतिपय सवालमा वीपीको धारणा अमेरिकी पक्षधरताबाट प्रेरित रहेको पनि देखिन्छ । यसलाई कतिपयले वीपीको कम्युनिस्टविरोधी धारणाको प्रकटीकरणको रूपमा पनि लिने गरेका छन् ।

नेपालको इतिहासमा एक समय नेपाली काङ्ग्रेस परम्परागत सत्तालाई पल्टाउन बल प्रयोग आवश्यक पर्ने कुरामा विश्वास गर्दथ्यो । उसले पूर्णसिंह खवासको नेतृत्वमा मुक्ति सेनाको गठन, बाबुकृष्ण शर्माको पहलमा आजाद हिन्द सेना निर्माण गरेको थियो । वीपी कोइरालाले पूर्वी कमान्डको राजनीतिक कमिसारियट गर्नुभएको थियो । उद्यपि वीपी कोइरालामा कम्युनिस्टविरुद्ध उग्र–चिन्तन रहेको देखिन्छ । यो उहाँको राजनीतिक सङ्कीर्णताको उपज थियो । वीपी कोइरालाको सङ्कीर्णता र अदूरदर्शी यतिसम्म थियो कि उहाँले यहुदी जातिवादी राष्ट्र इजरायललाई समर्थन गर्नुभएको थियो । वीपी कोइराला र उहाँको विचारधारात्मक परिस्थितिबारे नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरी भन्नुहुन्छ, “यहाँ विदेशी तत्वहरू छन्, कम्युनिस्टहरू विदेशी तत्वका आधारमा खेलिरहेका छन् । मेरो विचारमा त्यो (वीपीको) स्वस्थ विश्लेषण थिएन । त्यसले अहिलेसम्म अस्वस्थता दिएको छ । काङ्ग्रेस–म्युनिस्ट झगडा त्यसले झन् चर्कायो । पछि गणेशमानले मत्थर पार्नुभयो । त्यसको कटु अहिले पनि बाँकी छ । वीपीले अतिशयोक्ति नै गर्नुभएको छ । इन्डोनेसियामा ऐदितले गरेजस्तै कम्युनिस्टहरू यहाँ प्रवेश गरे भन्नुभएको छ । त्यो दुर्भाग्यपूर्ण हो । ऐदित इन्डोनेसियाका समर्पित कम्युनिस्ट नेता थिए । उनको जीवनी आफैँमा प्रेरक छ । उहाँलाई (वीपी) कसले भन्यो वा हेर्नुभयो पङ्क्तिकारलाई थाहा छैन । यसलाई हामी राजनीतिक वक्तत्व भन्न सक्छौँ तर राजनीतिक मात्र होइन, एक प्रकारको गैर–जिम्मेवार वक्तत्व पनि भन्न सक्छौँ । यसले मुलुकलाई हामी हानी पु¥याएको छ” (कान्तिपुर दैनिक, ३ साउन, २०७१) ।

वीपी कोइरालाबारे नेपाली राजनीतिमा एक किसिमको संशय पनि रहने गरेको छ । नेपालमा भएको विभिन्न राजनीतिक आन्दोलन एवम् तिनका सफलता र असफलतासित पनि उहाँको नाम जोडिएर आउने गरेको छ । यसै सन्दर्भमा लोकराज बराल भन्नुहुन्छ, “वीपी बाँचेको भए २०४६ सालको जनआन्दोलन हुने थिएन भनी धेरैले भन्ने गरेको सुनिन्छ । मेरो विचारमा वीपीले बहुदलीय व्यवस्थाको पक्षमा शान्तिपूर्ण आन्दोलन त गर्थे तर वाममोर्चासित सहकार्य गर्ने भने थिएनन् । उनको बुझाइमा यसो गर्दा नेपाली काङ्ग्रेसको परिचयमाथि प्रश्नचिन्ह लाग्ने गथ्र्यो । आजका सन्दर्भमा त्यो कति व्यावहारिक हुन्थ्यो, त्यो भन्न सक्ने कुरा भएन । गणेशमान सिंहले व्यावहारिकताको बाटो लिएर जनआन्दोलनमा वामशक्तिलाई पनि समावेश गरे”, (बराल, लोकराज, रोमाञ्चित जीवन, पृ. २६१) ।

वामसित सहकार्य गर्दा आफ्ना मानिसहरू पनि कम्युनिस्टतिर लाग्ने हुन् कि भन्ने डर वीपीमा रहेको देखिन्छ । उहाँले बेला–बेलामा माक्र्सवादको कुरा गरे पनि वास्तवमा उहाँ माक्र्सवादको नामै सुन्न नचाहने स्वभावका राजनीतिकर्मी थिए । नेपाली काङ्ग्रेसइतरका पार्टीका प्रायः सबै नेताले वीपीको प्रशंसै गरेका हुन्छन् र छन् पनि, तर वीपीले वाम वा कम्युनिस्टको प्रशंसा गरेको कतै पनि सुनिँदैन र पाइँदैन पनि । हुन त नेपालका वाम वा कम्युनिस्टहरूले वीपी÷काङ्ग्रेसलाई प्रधान सत्रु, भारतपरस्त, संसदवादी वीपी आदि आदि भन्नेहरू फेरि पनि किन वीपीको चर्चा गरिरहेका छन् भन्ने कुरा थप अनुसन्धानको विषय हो । कम्युनिस्टहरूको यो प्रशंसा आवश्यकता हो वा नेपाली काङ्ग्रेसलाई फुर्काएर आफ्नो सिद्धि गर्न खोजेका हुन् भन्ने कुरा अनुत्तरित नै छ ।

वीपी कोइरालाको मूल्याङ्कन गर्दै माक्र्सवादी सौन्दर्यशास्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एक दैनिक पत्रिकालाई अन्तरवार्ता दिनेक्रममा भन्नुभएको छ, “वीपीमा राजनीतिक कट्टरता थियो । लोकतन्त्रका लागि लडिरहनुभयो तर लोकतन्त्रमा कम्युनिस्टको अस्तित्व स्वीकार्न हिच्किचाउनुभयो । … वीपीले जान्नुभएन । निरङ्कुशताविरुद्ध मिलेर सङ्घर्ष गर्नुपर्ने बेला एक्लै हिँड्न उद्यत हुनुभयो । राजा वीरेन्द्रसँग मेलमिलाप गर्न खोज्नुभयो । त्यस्तो मेलमिलाप कम्युनिस्टविरुद्ध परिलक्षित थियो । … तानाशाहीविरुद्ध सशस्त्र सङ्घर्ष गर्नुको विकल्प छैन भन्ने भावना वीपीमा देखिन्थ्यो । सैन्यफाँटमा दिनुपर्ने जति ध्यान दिन नसकेकामा पछिसम्म उहाँमा पश्चात्तापको भावना देखिन्थ्यो । … उहाँमा सुझबुझको कमी हुँदा मुलुकको राजनीति अझै पछाडि धकेलियो । बरु राजनीतिक बुझाइमा पुष्पलालजी नै अगाडि गएको देखियो । … २०१५ सालको आम निर्वाचनमा काङ्ग्रेसको दुईतिहाइ सिट आउँदा कम्युनिस्टको चार सिट मात्रै देखेर सुरु–सुरुमा वीपीमा घमण्ड जागेको हुनुपर्छ । पञ्चायतकालमा कम्युनिस्टको राजनीतिक शक्ति बढेको देखेर पछिल्ला वर्षमा तर्सिनुभएको देखिन्छ ।”

नेपालमा कम्युनिस्टले काङ्ग्रेसलाई भारतपरस्त भन्ने र काङ्ग्रेसले कम्युनिस्टलाई राजापरस्त भन्ने आरोप लामो समयसम्म चल्दै आएको पाइन्छ । यस्तो बहस र प्रभाव अहिले पनि देखिने गरेको छ । २००३ सालतिर नेपाल बृहत्तर भारतको हो भन्ने वीपीले २०३३ सालतिर पुग्दा राष्ट्रियताको लागि ज्यानसमेत दिन पछि नपर्ने उद्घोष गर्नुभएको थियो । उहाँका समकालीनहरू उहाँमा कम्युनिस्ट फोबिया रहेको कुरा बेला–बेलाको बताउने गरेका पनि छन् । २०४६ सालमा भएको जनआन्दोलनको सफलतापछि खुलामञ्चमा आयोजित विशाल आम सभामा उनका भाइ गिरिजाप्रसादले भन्नुभएको थियो, “माले, मसाले र मण्डले एकै हुन्” भन्नु सामान्य कुरा थिएन । गिरिजाप्रसादको यो अभिव्यक्ति वीपी स्कुलिङको कम्युनिस्टप्रतिको दृष्टिकोणको प्रतिबिम्बन थियो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले “कम्युनिस्ट–काङ्ग्रेस मिलेर सङ्घर्ष गरौँ” भन्दा वीपीले पटक–पटक अस्वीकार गरिदिनुभएको थियो । २०४५÷०४६ को जनआन्दोलन र २०६३÷०६३ को जनयुद्धको जगमा उठेको १९ दिने जनआन्दोलनको सफलता पुष्पलालको सोही संयुक्त जनआन्दोलनको अवधारणाको प्रतिफल थियो । यसबाट देखिन्छ कि वीपी कोइराला अदूरदर्शी र राजनीतिक सुझबुझको अभाव भएको नेता हुनुहुन्थ्यो । वीपी कोइरालामा कम्युनिस्ट खतराको ह्याङ धेरैपछिसम्म पनि रहेको देखिन्छ । सायद, यही कारण पुष्पलालले यस्तो लेख्नुभएको थियो, “संसदीय व्यवस्थाको सुरक्षाका लागि समस्त जनवादी शक्तिहरू एकताबद्ध हुनुपर्छ भनी अपिल गरिएमा त्यसतर्फ ध्यान दिनुको सट्टा काङ्ग्रेसका नेताहरूले उल्टै ‘कम्युनिस्ट खतरा’ को रूपमा हौवा उठाउन थाले”, (श्रेष्ठ, पुष्पलाल, नेपाली जनआन्दोलनको एक समीक्षा) ।

पहिलो विश्वयुद्धताका जन्मिनुभएका वीपी कोइराला सोभियत सङ्घबाट विश्वभरि समाजवादको माहोल फैलिँदै गएको देखेर कम्युनिस्टहरूसँग निकै तर्सिनुभएको थियो । उहाँले नेपालमा देशभक्त कम्युनिस्टहरूलाई समेत पश्चिमी चस्माबाट हेर्नुहुन्थ्यो । भनिन्छ– वीपीमा राजनीतिक र वैचारिक सचेतना भएको भए पञ्चायती व्यवस्था ३० वर्ष टिक्ने थिएन । यद्यपि, सामन्ती राजतन्त्रविरुद्ध २००७ साल र पञ्चायतका विरुद्ध हतियार उठाउने वीपीको निर्णय सकारात्मक नै मान्नुपर्छ । इतिहासको रूपान्तरणमा बल प्रयोगको भूमिकालाई वीपीले महसुस गर्नु राम्रो कुरा थियो । आफ्नै समयका समकक्षी पुष्पलालबारे वीपी कोइरालाले ‘आत्म वृत्तान्त’ र ‘जेल जर्नल’ मा एक शब्द पनि उच्चारण गर्नुभएको छैन । वीपीले कम्युनिस्टहरूलाई राष्ट्रिय शक्ति हुन् भनेर कहिल्यै स्वीकार गर्नुभएन । एकपटक वीपी कोइरालाले पुष्पलालसित यस्तो प्रस्ताव गर्नुभएको थियो रे, “म तपाईं कम्युनिस्टहरूको आर्थिक एजेन्डालाई स्वीकार गर्छु, तपाईंहरू मेरो राजनीतिक एजेन्डा स्वीकार गर्न सक्नुहुन्छ ?”

वीपी कोइराला कम्युनिस्टसँग नमिल्नुको कारण के थियो ? नेपाली राजनीतिमा यसबारे विभिन्न अड्कल काटिएको पाइन्छ । यसबारे प्रकाश कोइराला भन्नुहुन्छ, “वीपी कोइरालालाई इतिहासको बोध थियो । ७० वर्ष पहिले चीनमा एक मात्र प्रजातान्त्रिक नेता थिए, च्याङ काइसेक । माओ र लीली सानको पनि खासै प्रभाव थिएन । त्यसबेला अमेरिका जापानसँग युद्धमा थियो । अमेरिकाले जापानलाई हराउनुपरेको थियो । उसले च्याङ काइसेकलाई दबाब दिँदै भन्यो, ‘तिमीहरू प्रजातान्त्रिक शक्तिले मात्र हुँदैन, गुरिल्ला वामपन्थीसँग छन्, तिनीहरूसँग मिल ।’ अनि च्याङ काइसेकले लीली सानसँग हात लिए । जापान त हा¥यो तर प्रजातान्त्रिक शक्तिभन्दा शक्तिशाली भएर चिनियाँ कम्युनिस्ट पार्टी र माओको उदय भयो । अमेरिकाको राष्ट्रिय स्वार्थमा च्याङ काइसेक नफसेको भए चीनमा कम्युनिजम आउँदैनथ्यो । त्यो कुरा वीपीले बुझ्नुभएकाले उहाँले कम्युनिस्टसँग सहकार्य नगर्नुभएको हो ।”

नेपालका बहुसङ्ख्यक जनता कम्युनिस्ट सिद्धान्त, विचार र आदर्शमा विश्वास गर्दछन् । त्याग, तपस्या, बलिदान र वीरताको कोणबाट भन्ने हो भने नेपाली काङ्ग्रेसले भन्दा नेपालका कम्युनिस्टहरूले नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको लडाइँमा कैयौँगुणा बढी योगदान गरेका छन् । नेपालका कम्युनिस्टहरूमा पनि माओवादीको योगदान झनै विशिष्ट रहेको छ । यो ऐतिहासिक तथ्यलाई वर्तमानमा प्रचण्ड–बाबुरामले नजरअन्दाज गर्नु बेग्लै कुरा हो । तर पनि नेपाली जनयुद्धको महान् भावलाई आत्मसात् गर्दै यतिबेला नेपालमा एकीकृत जनक्रान्ति भइरहेको छ । यसलाई रोक्ने क्षमता न त काङ्ग्रेसीजनसित छ, न त प्रचण्ड–ओलीहरूसितै नै रहेको छ । नेपाल कम्युनिस्टमाथि लगाइएको राजनीतिक प्रतिबन्ध त उनीहरूको ‘हरुवा गोरुको छेरुवा दाउ’ सिवाय अरू केही पनि होइन ।

वीपी कोइराला प्रजातन्त्रको आवरणमा पुँजीवादी वर्गको हितको निम्ति खडा गरिएको उक्त शिविरका संस्थापक हुन् । यो शिविरको रक्षाका निम्ति उनीस दैव चनाखो भइरहे । यसैकारण उनको पुष्पलालसित राम्रो सम्बन्ध हुन सकेन । उनी कम्युनिस्टहरूदेखि सदैव भयभीत हुन्थे । उनले नेपालमा कम्युनिस्टहरू लोकप्रिय बन्दै गएको देखिरहेका थिए । त्यो लोकप्रियताले आफ्नो शिविरको रक्षाका निम्ति उनी सदैव चनाखो भइरहे । यसैकारण उनको पुष्पलालसित राम्रो सम्बन्ध हुन नसकेको हो । कम्युनिस्ट लोकप्रियताले आफ्नो वर्गको हित हुँदैन भन्ने कुरा वीपी कोइरालालाई थाहा नहुने कुरै भएन ।

वीपी कोइराला र पुष्पलाल श्रेष्ठ दुवैले निरङ्कुश पञ्चायतरिुद्ध प्रवासमा बसेर आन्दोलन गर्नुभएको थियो । तर पनि वीपीले निरन्तर पुष्पलालको अवमूल्यन गर्नुभएको पाइन्छ । वीपी पहाडे आर्य बाहुन भएकोले उहाँलाई जिउँदै नेपाल आउन दिइयो, पछि उहाँलाई सुन्दरीजल जेलमा राखियो । पुष्पलाल श्रेष्ठ आदिवासी नेवार भएकोले उहाँको लास पनि नेपाल ल्याउन प्रतिबन्ध लगाइयो । पुष्पलालको अस्तु पनि लुकाएर र बडो कष्टका साथ ल्याएको थियो । राणा शासनको विरोधमा विद्रोह गर्नेहरूमध्ये टङ्कप्रसाद आचार्य पहाडे आर्य बाहुन भएकोले र ‘बाहुनलाई मारे पाप हुन्छ’ भन्दै उहाँलाई जेलमा राखिएका थियो तर आदिबासी जनजाति भएको कारण धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठलाई झुन्ड्याएर गोली हानेर फासि दिइएको थियो । यसले तत्कालीन नेपाली समाजमा गडेर बसेको जातीय विभेदलाई नै इङ्गित गर्दछ । हुन त आज पनि नवराजहरू जातीय विभेदको सिकार बन्न विवश छन् ।

आत्मलघुताबोधका गम्भीर सिकार हुनुभएका वीपी कोइरालाको तुलनामा पुष्पलाल धेरै माथिका राजनीतिशास्त्री र चिन्तक हुनुहुन्थ्यो । वीपी कोइरालाको समाजवाद भारतीय समाजवादी नेता जयप्रकाश नारायणको अन्धनक्कल थियो । नेपाली जनताको साथ र समर्थनमा माओवादीद्वारा सञ्चालित महान् जनयुद्धमा जनसंहार गर्ने नेपाली काङ्ग्रेस र तिनका नेताहरू अहिले पनि ठमठमी हिँडिरहेका छन् । महान् जनयुद्धका क्रममा ते¥ह हजारभन्दा बढीको हत्या र पाँच हजारभन्दा बढीको बेपत्ता पार्ने काम नेपाली काङ्ग्रेसका नेताहरूद्वारा नै भएको थियो ।

अध्ययन र विश्लेषणहरूबाट हामी यो निष्कर्षमा पुग्छौँ कि वीपी सङ्कीर्ण राजनीतिकर्मी हुनुहुन्थ्यो भने पुष्पलाल परिपक्व र उदात्त राजनीतिकर्मी हुनुहन्थ्यो । नेपालमा कम्युनिस्टविरोधी विरासत र तिनको वर्गीय चिन्तनधाराको उपजको रूपमा नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध आएको छ । आज नेपाली राजनीतिक सत्तामा ओली–प्रचण्ड रहे पनि मूलतः यो नेपाली काङ्ग्रेसको नयाँ संस्करण मात्र हो । ओली स्वयम्ले अन्नपूर्ण पोस्ट दैनिकमा एक अन्तर्वार्ता दिँदै ‘आफू र आफ्नो पार्टी कम्युनिस्ट पार्टी नभएको’ स्पष्टीकरण दिइसकेका छन् । यतिबेला काङ्ग्रेसका सभापति शेरबहादुर देउवा अमेरिकी सैन्य रणनीति एमसीसी पास गर्न ओलीलाई दबाब दिइरहेका छन् । यसबाट आजको काङ्ग्रेसको हविगत बुझ्न कुनै समस्या हुनुहुँदैन । ओलीको निगाहमा आफ्नो राजनीति बचाएका प्रचण्डहरूको पनि अब के कुरा गर्नू र ! दक्षिणपन्थको पनि दक्षिणपन्थ दलदलमा नाकैसम्म डुबिसकेका बाबुरामको कुरा गर्नु पनि समय खेर फाल्नु मात्र हो । ओलीका लागि छाती चिर्ने एकाध हुनमानहरूको झन् के कुरा गर्नू !

६ साउन, २०७७

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी