साउन ६ रुपन्देही । रुपन्देहीको दानब खोला आज अचानक उर्लिएर आए पछि किनारमा बस्ने तीन परिवार विस्थापित भएका छन् ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ को भरथापुर अन्तर्गत खोलाको बाढी घरैमा पसे पछि उनीहरु भएका थोरै सामान बोरामा पोको पारेर अन्तै सरेको स्थानीय अजिज अहमदले जनाए ।
कुमार मल्लाह, सहिदुन निसा लगायतको परिवार विस्थापित भएको उनले बताए । उनीहरुलाई अहिले बस्न र खान समेत समस्या भएको उनले बताएका छन् ।
भरथापुर २ साविकको भगवानपुर वडा नंं.७ रुपन्देहीकै उच्च जोखिममा छ । पाल्पाको सिद्धबाबा र बुटवलमा बर्षा हुनासाथ साथ सो गाउँ डुबानको समस्यामा पर्ने गर्दछ ।
दानब नदीको किनारमा रहेका बासिन्दाहरुको मुख्य पेशा भनेको तरकारी खेती र मजदुरी हो । वि.सं.२००७ साल देखि बसोबास रहेको सो क्षेत्रमा अहिले सम्म सरकारको ध्यान पुग्न सकेको छैन । 
दानव नदीमा तटबन्द नहुँदा नदीले कहिले पूर्व तिरको भागमा कटान गर्छ, कहिले पश्चिमतर्फको । २०७२ सालमा आएको अविरल वर्षाका कारण बाढीबाट मानवीय क्षति हुन नदिन डुङ्गा प्रयोग गरेर नजिकैको खरबडौं गाउँमा बस्तिलाई सारियो । तर पशु चौपाय र तरकारी खेति बगाउँदा लाखौंको क्षति भएको थियो ।

उक्त गाउँमा २००७ सालदेखि यता तीन चरणको बस्ती भइ सकेको छ । पहिलेको बस्ती बसेको पश्चिमपट्टि हो । नदी पश्चिमतिर गएपछि मानवीय बस्ती पूर्व सर्यो । २०२८ सालमा फेरि नदीले पूर्वतिरको बाटो लिन थाल्यो र बस्ती फेरि पश्चिम सर्यो । शुरुको बस्ती हाल दानव नदी देखि पश्चिम पारिपट्टी छ । दोस्रो पटक बस्ती सरेको ठाउँमा अहिले दानब नदी बगेको छ । हाल बसेको बस्ती नदी भन्दा दुई सय मिटर पर मात्र छ । र नदीले बस्तीतर्फ कटान गर्दैछ ।
बुटवलमा परेको अविरल वर्षा भएपछि सो क्षेत्रमा ठूलो बाढी आउने गर्छ । जब वर्षा शुरु हुन्छ, तब त्यहाँका जनता रातभर जागराम बस्छन् । धेरै जसो कच्ची सानो झुपुडाका घर भएकोले बस्तुभाउलाई बलियो खम्बामा बाँधेर पक्कि घर भएको छतमा त्रिपाल ओढेर बस्ने गर्छन् ।
तस्बीर/भिडियाे साैजन्यः अजिज अहमद(रूपन्देही)https://youtu.be/9tyLV1OYmY0