भरतपुर , ५ साउन । हिजो देखी परेको अविरल वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका मा पृथ्वी राजमार्गको सडक भत्काएको छ ।
आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोलामा निर्मीत पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ ।
बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिनुभयो । उहाँले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताउनुभयो ।
जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिनुभएको छ । हवल्दार उपेन्द्र श्रेष्ठले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको पनि बताउनुभयो ।