आफ्नै आँसुको गहिराइमा
घाम डुबेर
विराट अँध्यारोले मन निलेको बेला
जिन्दगीको आरनमा
विचारको आगो सल्काइरहेका
यो आकाशका जूनहरू
दरबारका पाउमुनि अस्ताउँदै थिए !
समयको त्यही फ्रेमभित्र
यौवन फुलेर
अग्लिएको रहरहरूको पहाडलाई
डल्लेठाहरूले फुटाएर
ऊ हिँडिरह्यो – चेतनाको तारेभीरमाथि !
सायद,
अब ऊ चम्किरहनेछ
आस्थाको नअस्ताउने रातो तारा बनेर !
अहो !
कस्तो नक्कली रहेछ
मृत्युसँग विनिमय गरेको ध्रुवतारा !
राहदानीमा तस्विरझैँ टाँसिएको
यो गर्भिणी देश
मरुभूमिको तातो बालुवामाथि
अब कहिलेसम्म आँसुले तिर्खा मेटाइरहन्छ ?
यो पैयूँ फुलेको जङ्गलभित्र
जीवनको लय टुटेपछि
खुर्पेटोका आफूजस्तै निरक्षर धारहरूले
किन होला
आफ्नो जोवन आफैँ काटिरहेछन्
आभा गुमाएर
विरूप समय बाँचेका जुनकीरी भाउजूहरू ?
र सपनाको झ्यालबाट
पिरतीको चङ्गा उडाउँदा उडाउँदै
किन चेट भइरहेछन्
जिन्दगीको कलिलो धागोबाट राहुलहरू ?
फूलहरू अर्कैले चुंडेर
निःसन्तान बनेको
मेरो भरोसाको अपी हिमाल
फेरि किन यसरी
मौन पञ्चमी नुहाइरहेछ – आँधीखोलाहरूमा ?
वनमा डढेलो सल्केर
वसन्त सबै जलिसक्दा पनि
किन पो होला
उजाड झोडाको ठुटामा बसेर
निरोको बाँसुरी फुकिरहन्छन् – यी वनचरीहरू ?
जिन्दगी लाछिएको डालीमा
कहिले पलाउँछन्
विश्वासका हरिया पातहरू
र पुन: मुस्कुराउँछ – यो सुनसान वसन्त ?
कहाँ पुगेर बिसाउँछ
नदीले भोकको पुरानो भारी
र थकाई मार्छ – पानी बनेर बगेको आँसु !
जुवामा हारिएकी श्रीमतीझैँ
यो आकाशले आज
खै कसको बन्धकीपत्र ओढिरहेछ ?
माझी हराएर
सागरमा तैरिरहेको बेनाम डुङ्गाझैँ
के यो शृङ्खला पनि
यसै गरी चलिरहन्छ – यो धर्तीमा सदासदा ?