साउन २ कीर्तिपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्गले कीर्तिपुर नगरपालिकाको निरीक्षण गर्नु भएको छ ।
मन्त्री नेवाङ्गलाई कीर्तिपुर नगरपालिकाको नयाँ भवन अमल्सिमा नगर प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, पूर्व राज्यमन्त्री दिलिप महर्जन लगायतले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा नगर प्रमुख महर्जनले सिंह दरवार (संघीय सरकार) र हेटौंडा (प्रदेश सरकार)ले कीर्तिपुरलाई हेर्ने दृष्टिकोण टाढा रहेकोले माननीय मन्त्रीले यसलाई नजिक बनाई कीर्तिपुरको विकासमा सहयोग गर्न आग्रह गर्नु भयो । साथै कीर्तिपुरमा बन्न लागेको स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) को अवधारणा पत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा कीर्तिपुरलाई सरकारले सहयोग गर्ने बताउँनु हुँदै स्मार्ट स्ट्रीट लाइट बनाउनको लागि अत्यावश्यक डिपिआर तयार गरीसकेकोले यो नगरपालिका अरु भन्दा एक कदम अघि बढेको मन्त्री नेम्वाङले बताउनु भयो ।

माननीय मन्त्री नेम्वाङ्ग कीर्तिपुर नगरपालिका भवन, अमल्सिबाट नगाउँ हुँदै चम्पादेवीमा रहेको नेपाल कम्यूनिष्ट पार्टीको संस्थापक महासचिव क।पुष्पलालको प्रतिमा रहेको पुष्पलाल पार्क पुगी फूलगुच्छा चढाउनु भयो । यस बीच बाटोमा परेको वडा नं ९ नगाउँमा बनाइरहेको रिटेलिङ्ग वाल तथा ढल निकासको योजनाको स्थलगत निरीक्षण गर्नु भएको थियो ।
पुष्पलाल पार्क, चम्पादेवीबाट फर्की वडा नं ३ को धःपा हुँदै दीखु पुग्नु भयो । दीखुमा गत २०७६ साल पुष १२ गते आफैले शिलान्यास गरेको कीर्तिपुर –चन्द्रागिरि जोड्ने मितेरी पुलको निरीक्षण गर्नु भयो । सो पुल २०७७ जेठ मसान्तसम्ममा सम्पन्न गर्ने योजना रहेको भए तापनि लकडाउनका कारण सो योजना पूरा हुन सकेको छैन ।
मन्त्री नेम्वाङ्गलाई कीर्तिपुरको सबभन्दा उचाइमा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल क्वाःच्व (उमा महेश्वर मन्दिर) को भ्रमण गराइएको थियो । ।
तात्कालिन कीर्तिपुर राज्यको लाय्कू (दरवार स्क्वाय्र) अवलोकन पश्चात वडा नं.१ कार्यालयमा समापन गरेको थियो । समापन कार्यत्रममा नगर उप–प्रमुख खड्काले धन्यवाद् दिनु भएको थियो भने नगर प्रमुख महर्जनले माननीय मन्त्री नेम्वाङ्गलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कीर्तिपुर निरीक्षण भ्रमणमा माननीय मन्त्रीका साथमा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ, विना श्रेष्ठलगायत सहभभागी हुनुहुन्थ्यो ।