जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट बिदा भएका छन् । करिब एक दशकको सेवा अवधि सम्पन्न गरी झा आजबाट विदा भएका हुन् ।
संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पुरा गरी साउन १ गतेबाट झाले नेपाल लाइफबाट विदा लिनु भएकाे लिएको कम्पनीले जानकारी दिएको छ ।
झाको बिदाईसँगै कम्पनी बोर्डले डेपुटी सीईओ सन्तोष प्रसाईंलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ । प्रसाईं चार्टर्ड एकाउन्टेन्ट हुन् ।
नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको छ ।
नेपाल लाइफमा कुल नौ वर्ष ११ महिना बिताएर साउन १ बाट बिदा भएका झाले यस कम्पनीलाई जीवन बीमाको क्षेत्रमा सबै सूचकहरुमा नेपालको नम्बर वान बीमकका रुपमा स्थापित गरेका छन् । जीवन बीमा बजारमा नेपाल लाइफको हिस्सा एक दशकअघिको २२ प्रतिशतबाट गत आ.व.को अन्त्यमा उनले ३० प्रतिशत पुर्याएको कम्पनीको तथ्याङ्कबाट देखिन्छ ।
सदैव आफ्ना सहकर्मी कर्मचारीहरुलाई आफ्नाे मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्नुहुने झाले बिदाइका क्रममा अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन् ।
हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पुर्याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास व्यक्त गरे । जसका लागि आवश्यकता अनुसार आफ्नाे तर्फबाट सदैव योगदान गर्न तत्पर रहेको सिइओ झाले बताए ।
सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।
साथै, संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरेका थिए ।
यस्ताे छ झाकाे नेपाल लाइफ इन्स्याेरेन्सकाे यात्रा
झा २०६७ भदौ १ मा सेकेन्ड म्यान (उपमहाप्रबन्धक) का रूपमा यस कम्पनीमा छिरेका थिए । बीमा क्षेत्रमा करियरको पहिलो १० महिनामै उनले उपमहाप्रबन्धकबाट ‘कामु महाप्रबन्धक’ का रुपमा कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी पाए । त्यसबेला मात्र ३७ वर्ष पुगेका झा तत्काल नेपाली बीमा क्षेत्रमा सबैभन्दा कम उमेरमा सीईओ बन्ने व्यक्तिसमेत हुन् ।
चार्टर्ड अकाउन्टेन्ट झाले नेपाल लाइफ (तत्कालिन एनएलआईसी) को स्थापनाकालदेखि सात वर्ष यसको अडिटरका रुपमा काम गरेका थिए । सोपछि दुई वर्षको बैंकिङ करियरमा माछापुच्छ्रे बैंकको ‘कम्प्लायन्स चिफ’ का रुपमा समेत काम गरे।
माछापुच्छ्रे छाडेर एनएलआईसी गएका झाले २०६८ साउन १ बाट यस कम्पनीको व्यवस्थापकीय कमान सम्हालेका थिए । त्यसको ठिक एक वर्षपछि फुल फ्लेज्ड सीईओ नियुक्त भएका उनले नेपाल लाइफलाई कुल नौ वर्ष एक महिना नेतृत्व दिए ।
त्यसबेलाको एनएलआईसी इन्स्योरेन्सलाई झाले नै सन् २०११ मा रि–ब्रान्डिङ गरेर ‘नेपाल लाइफ’ बनाएका थिए । बीमा कम्पनीमा दक्ष जनशक्तिको आकर्षण बढाएको र कम्पनीमा कर्मचारी टर्नओभर न्यून बनाएको श्रेय उनलाई जान्छ। यसका अलावा नेपालमा कायम भारतीय बीमा कम्पनीको दबदबा तोड्न उनले योगदान गरे। नेपाली बीमा कम्पनीहरूप्रति आम उपभोक्तादेखि लगानीकर्तासम्मको विश्वास बढाउँदै नेपाली कम्पनीमा पनि म्याचुरिटी पिरियडमा आधारित बोनस दर कार्यान्वयनमा ल्याएकोले झाको कार्यकाल माइलस्टोन मानिन्छ।
कम्पनीको पोलिसी बोनस दर ५० बाट ८२ रुपैयाँ, प्रतिबिमित औसत प्रिमियम रकम ५ हजार रुपैयाँबाट ५० हजार पुग्नु, शाखा तथा सञ्जाल संख्या २३ वटाबाट २०१, वार्षिक प्रथम बीमा शुल्क आम्दानी ५३ करोडबाट साढे ९ अर्ब रुपैयाँ, कुल लगानी करीब नौ अर्ब रुपैयाँबाट ९० अर्ब, चुक्ता पुँजी ३७ करोडबाट करीब साढे पाँच अर्ब पुग्नु इत्यादि झाको कार्यकालमा नेपाल लाइफले भेटाएका केही उल्लेख गर्न लायक उपलब्धीहरु हुन् ।