कन्चनपुर, २८ असार ।
कन्चनपुरको सदरमुकामा रहेको भीमदत्त नगरपालिकाले नगरपालिकालाई हरित नगर बनाउन विरुवा वितरण सुरु गरिएको छ । नगरपालिकाले डिभिजन वन कार्यालय सित सहकार्य गरी उत्पादन गरिएका विरुवाहरू वितरण गरिएका हुन् ।
भीमदत्त नगरपालिकालाई हरित नगर बनाउने नीति अनुसार चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालयमा नर्सरी निर्माण गरी विरुवा उत्पादन गरिएको थियो । नर्सरीमा ३० हजार विरुवा उत्पादन गरिएका छन् । नर्सरीमा उत्पादन गरिएका ३० हजार विरुवा निःशुल्क रुपमा वितरण गरिएको हो ।
भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले आइतबार विरुवा वितरण सुरुवात गरेका छन् । उनले भीमदत्तलाई हरित नगर बनाउने नगरपालिकाको नीति अनुसार नर्सरीमा विरुवा उत्पादन गरी वितरण गरिएको बताए ।
‘भीमदत्तलाई क्लिन सिटी,ग्रिन सिटी बनाउने लक्ष्य छ, हरित नगर बनाउने सबै नगरवासीको चाहना हो’ उनले भने,‘यसले हरित नगर बनाउने लक्ष्य पूरा हुने विश्वास छ ।’
नगर प्रमुख विष्टले नर्सरीबाट विरुवा लगिएका सबै विरुवा आफ्नो वृक्षारोपण गरी सदुपयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
स्थानीय तह निर्वाचनपछि हरित नगर बनाउने नीति अनुसार स्थानीयलाई विरुवा वितरण गरिएको हो । भीमदत्त नगरपालिकाले एक घर चार विरुवा वितरण अभियान समेत चलाउँदै आएको छ ।
नगरपालिकाले कागजात विना १० विरुवा दिने गरेको छ । नागरिकता र जग्गाधनी पूर्जाका आधारमा एक सय विरुवा दिने गरिएको छ ।
यसैगरी एक सय भन्दा बढी विरुवाका लागि नागरिकता, जग्गाधनी पूर्जा र सम्बन्धित कार्यालयको सिफारिश माग गरिएको छ । सरकारी तथा गैर सरकारी संघ संस्थालाई पनि विरुवा वितरण गरिने भएको छ ।
भीमदत्त नगरपालिकाका वातावरण विकास अधिकृत गणेश ठगुन्नाले विरुवा लिन आउँदा मास्क अनिवार्य गरिएको बताए । ‘कोभिड १९ को संक्रमणको कारण विरुवा लिन आउँदा मास्क अनिवार्य गरिएको छ’ उनले भने । नर्सरीमा उत्पादन गरिएका सबै विरुवा वितरण गरिने बताए ।