फर्किए तेस्रो मुलुकबाट २०५ काभ्रेली

फर्किए तेस्रो मुलुकबाट २०५ काभ्रेली

  • शनिबार, असार २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काभ्रेपलाञ्चोक, २७ असार। तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २०५ जना फर्किएका छन् । विश्वव्यापीरूपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश ल्याउने क्रममा उनीहरु फर्किएका हुन् ।

एकमहिनायता विभिन्न मुलुकबाट जिल्लाका विभिन्न स्थानका ती नागरिक फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । उनीहरूमध्ये हाल १४४ स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । अन्य नागरिक क्वारेन्टिन अवधि सकिएर घर फर्किएका छन् भने केहीलाई कोरोना भाइरस देखिएपछि उपचाररत अवस्थामा रहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँले भन्नुभयो, “तेस्रो मुलकबाट जिल्लाका नागरिक आउने क्रम जारी छ ।” तेस्रो मुलुकबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको होल्डिङ सेन्टरमा बसेका काभ्रेलीलाई सदरमुकाम धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ ।

पोष्टका अनुसार हाल तेस्रो मुलुकबाट आउने जिल्लाका नाकरिकमा धुलिखेल नगरपालिकाका ३३, बनेपाका ३५, पनौतीका ३३, मण्डनदेउपुरका १५, पाँचखालका १७, नमोबुद्धका १२ तथा रोशी गाउँपालिकाका १४, महाभारतका तीन, चौँरीदेउरालीका आठ, भुम्लुका छ, बेथानचोकका आठ, तेमालका १७ र खानीखोलाका चार रहेका छन् । यहाँका १३ स्थानीय तहमा ८५१ श्ययाको क्वारेन्टिन छन् भने धुलिखेल, बनेपा र पाँचखाल नगरमा २७ आइसोलेशन श्यया तयारी अवस्थामा रहेको छ ।

हालसम्म विदेशबाट आएका स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला सङ्कट ब्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार होम क्वारेन्टिनमा बस्न चाहनेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइनेछ । “यसका लागि स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरह सुविधा भएको व्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार तेस्रो मुलुकबाट आई आफैं खर्च व्यहोर्न चाहनेलाई पर्यटकीय नगरी धुलिखेलका सुविधानसम्पन्न होटल क्वारेन्टिनसमेत व्यवस्थित गरिएको छ । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान उल्लेख छ । तेस्रो मुलुकबाट काभ्रेली आउनेक्रममै रहेकाले स्थानीय तहको क्वारेन्टिन थप ब्यवस्थित गर्दै प्रत्येक क्वारेन्टिन १०० बेड क्षमतामा विस्तार गर्न थालिएको छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ ।

तेस्रो मुलुकबाट आउनेले पिसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइने गरिएको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताउनुभयो । उहाँका अनुसार हालसम्म भारतलगायत विदेशबाट फर्केका ६३७ पुरुष र १३३ महिला क्वारेन्टिनमा बसिसकेका छन् । “भारतलगायत तेस्रो मलुकबाट एकैपटक नआउने भएकाले हाल व्यवस्थित क्वारेन्टिन पर्याप्त छ, तर पनि सङ्क्रमण फैलिने क्रममा रहेकाले बेड सङ्ख्या र क्वारेन्टिन थप क्षमताको बनाउने तयारीमै छौँ”, उहाँले भन्नुभयो । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क थियो ।
पनौतीका २ र ९ वडा सिल
यसैबीच दुई कोरोना भाइरस सङ्क्रमित भएपछि पनौती नगरले २ र ९ नम्वर वडा शुक्रबार साँझ सिल गरेको छ । वडा नं २ का ४७ वर्षीय महिला र ९ मा २६ वर्षका पुरुष कोरोना सङ्क्रमित भएपछि वडा सिल गरिएको हो । नगरपालिका कार्यालयले समुदायमा सङ्क्रमणको उच्च जोखिम देखिएकाले सुरक्षाका मापदण्ड अपनाएर आफ्नै घरमा बस्न नगरवासीमा अनुरोध गरेको छ ।

साथै सिल गरिएको वडामा अत्यावश्यक परिस्थितिमा घर बाहिर जानुपर्ने वा आउनुपर्ने भए स्थानयीय प्रहरी, स्वास्थ्यकर्मी तथा वडाध्यक्षसँग समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । हालसम्म काभ्रेका २० जनामा कोरोना पुष्टि भएकोे छ । ती मध्ये सात जना उपचारपछि घर फर्किएको पोष्टले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ