देश सुरुङमार्ग युगमा प्रवेश गरेको छ- मन्त्री फुयाँल

देश सुरुङमार्ग युगमा प्रवेश गरेको छ- मन्त्री फुयाँल

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

हेटौँडा, २४ असार । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले देश सुरुङमार्गको युगमा प्रवेश गरेको बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजित ‘एशियाकै सबैभन्दा पुरानो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनःनिर्माणको क्रममा भएको अध्ययनको प्रस्तुतीकरण’ कार्यक्रममा उहाँले पुनःनिर्माणमा खटिने प्राविधिकहरुले चुरिया सुरुङ पुरातात्विक महत्वको सम्पदा हो भन्ने हेक्का राख्नुपर्ने बताउनुभयो ।

मन्त्री फुयाँलले आधुनिक प्रविधिले मजबुत र परम्परागत हिसाबले सुन्दर पर्यटकीय सम्पदाको रुपमा चुरिया सुरुङलाई विकास गरिने उल्लेख गर्दै हिजो सुरुङमार्ग चाहिन्छ र बनाउनुपर्छ भन्नेहरु नै अहिले सुरुङमार्ग देशलाई आवश्यक नै छैन भन्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले सयवर्ष भन्दा बढी पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्नेकाम आफैँमा संवेदनशील भएको बताउनुभयो ।

प्रस्तुतीकरणमा सुरुङमार्गको पुनःनिर्माणको अध्ययनमा खटिएका प्रविधिकहरुले निर्माणका बेला ५०० मिटरको लम्बाइको सुरुङलाई २१० मिटर मात्रै कायमगरी पुनःनिर्माण गर्दा उपयुक्त हुने धारणा राख्नुभयो । त्यसरी पुनःनिर्माण गर्दा रु चार करोड २१ लाख २९ हजार खर्च लाग्ने प्राविधिकको भनाइ थियो ।

उक्त सुरुङ मार्गको प्रदेश सरकारले पुनःनिर्माण गर्न लागेको हो । वर्तमान सन्दर्भमा व्यावसायिक प्रयोगका लागि उपयुक्त नभए पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङमार्गको जीर्णोद्वार गरेर पुनःसञ्चालनमा ल्याउन लागिएको बताइएको छ ।
करिब १०३ वर्षअघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एशियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोलशास्त्री टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा उल्लेख गरेका छन् । स्वीट्सजरल्याण्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङडम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

नेपालको पहिलो इञ्जिनीयर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किम्बदन्ती पाइन्छ ।
चुरिया सुरुङ, हेटौँडा–काठमाडौँ रोपवे, धरहरा, शीतल निवास र घण्टाघरको पुनःनिर्माण, नेपालको प्रथम रेल्वे जनकपुर–जयनगर रेल्वे निर्माण आदि महत्वपूर्ण निर्माण गरेका इञ्जिनीयर थापाले विदेशबाट महङ्गा उपकरण झिकाएर चुरेको पहाड काटेर फाल्नुभन्दा नेपाली श्रमिक र नेपाली उत्पादनकै प्रयोग गरेर सुरुङ निर्माण गर्नु उपयुक्त र सस्तोसमेत हुने ठानेर सुरुङ निर्माण गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ