टोल पढाइ कार्यक्रममा रमाउँदै विद्यार्थी

टोल पढाइ कार्यक्रममा रमाउँदै विद्यार्थी

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

राँझा, २३ असार । कोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका नेपालगञ्जका विद्यार्थीलाई टोल पढाइ कार्यक्रमले सक्रिय बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० स्थित जयजनता माध्यमिक विद्यालयले सञ्चालन गरेको टोल पढाइ कार्यक्रममा सहभागी भएर विद्यार्थीले पढाइलाई निरन्तरता दिन थालेका छन् ।
महामारी सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि टोलटोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार टोलका विद्यार्थीलाई टोलमै जम्मा गरेर सामुदायिक भवन र चौतारामा सामाजिक दूरी कायम गरेर पढाइने गरिएको छ । विद्यार्थीको चाप बढी हुन नदिन दुई चरणमा पठनपाठन भइरहेको छ । कक्षा १० का हिमाल छत्यालले महामारीका कारण विद्यालय जान नपाएका अवस्थामा टोल पढाइ कार्यक्रमबाट पढाइलाई निरन्तरता दिन पाइएको बताउनुभयो । टोलमै पढ्न पाउँदा विद्यार्थी खुशी देखिएका छन् ।
कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई समेट्ने गरी टोल पढाइ कार्यक्रमको समयतालिका र शिक्षकको जिम्मेवारी तोकिएको छ । शिक्षकले टोलटोलमा जम्मा भएका विद्यार्थीलाई पठनपाठन गराउने गरेका छन् । विद्यालयले विद्यार्थीको नाम अभिलेखीकरण गरेर पाठ्यपुस्तक वितरण गरिएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरेको हो ।“वडाभरिका विद्यार्थीलाई विद्यालयमा पठनपाठन गराउँदा कोरोना सङ्क्रमणको खतरा छ, त्यसैले एउटा टोलका विद्यार्थीलाई जम्मा गरी सामाजिक दूरी कायम गरेर टोलमै पढाउन थालिएको हो”, प्रधानाध्यापक पाण्डेले भन्नुभयो,“शिक्षकहरु मास्क र सेनिटाइजर लगाएर शिक्षण सामग्रीसहित पुग्दा बालबालिका आआफ्नो बस्ने व्यवस्थासहित टोलमा जम्मा हुने गरेका छन् ।”
विद्यार्थीका लागि विषयगत शिक्षकअनुसार बिहान १०ः३० देखि अपराह्न १२ः४५ बजे र १२ः४५ देखि अपराह्न २ः४५ बजेसम्म टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको सहयोग र समन्वयमा टोल पढाइ कार्यक्रम सञ्चालन गर्न सम्भव भएको उहाँको भनाइ छ । रेडियो र टेलिभिजनका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन सक्ने अवस्था नभएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गबहादुर छत्यालले जानकारी दिनुभयो ।
उहाँले टोल पढाइ कार्यक्रम सञ्चालन गर्न धेरै चुनौती रहे पनि बालबालिकालाई पठनपाठनमा सक्रिय बनाइराख्न विद्यालयले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्नुभयो । विसं २०४३ मा स्थापित सो विद्यालयमा करीब आठ सय विद्यार्थी अध्ययनरत छन् । उपमहानगरपालिका शिक्षा शाखा संयोजक गोर्ख थापाले विद्यालयले सञ्चालन गरेको टोल पढाइ कार्यक्रम अहिलेका अवस्थामा प्रभावकारी रहेको बताउँदै नेपालगञ्जका अन्य विद्यालयले पनि त्यसको सिको गर्न थालेको जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी